वीरगञ्ज । पर्सामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति पर्सा र बाराको गरी ५ सय १० जनाको स्वाब नमूना परीक्षण गएिको थियो। तीमध्ये पर्साका २४ र बाराका दुई गरी २६ जनामा मात्र संक्रमण भेटिएको हो।
शनिबार राति पर्साको वीरगञ्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो।
वीरगञ्ज महानगरपालिकामा थपिएका २२ जनामध्ये दुई जना सशस्त्र प्रहरी र नबिल बैंकका ५ जना कर्मचारी पनि रहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ।
डाक्टर चौरसीयाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।