काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको कुरा प्रेस सल्लाहकार सूर्य थापाले समेत पुष्टी गरेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको उल्लेख छन् ।
राति हार्ट रेट बढेको देखेर अस्पताल ल्याएको तर उहाँको यो पुरानै समस्या हो, कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो, प्रधानमन्त्रीका निजी चिकित्सक शाहले प्रतिक्रिया दिएकी छन् ।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।