एजेन्सी । रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार प्रकाशित गरेको छ।
रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्। मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ।
दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ।
यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो। यो खोप दुई मात्राको रहेको छ। रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।