काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । आजै उनी अर्थ मन्त्रालयको बिदाई कार्यक्रममा सहभागी समेत भएका थिए ।
राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले खतिवडालाई नदोहाेर्याउने निर्णय गरेको थियो । सोहीकारण उनीसँग राजीनामाको विकल्प भने थिएन ।
उनी यसअघि राष्ट्रिय सभामा मनोनित भइ अर्थमन्त्री बनेका थिए । गोलाप्रथामार्फत् उनको कार्यकाल दुई वर्ष मात्र हुने तय भएको थियो । गत फागुन १९ मा राष्ट्रिय सभामा उनको अवधि सकिएपनि भोलिपल्टै उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: अर्थमन्त्री नियुक्त गरेका थिए ।
संविधानमा दुई मध्ये एक सदनको सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ । तर ती मन्त्री ६ महिनाभित्र सांसद बन्नुपर्ने प्रावधान समेत छ ।
खतिवडालाई पुन: राष्ट्रिय सभामा दोहोर्याउन प्रम ओलीले नै आनकानी गर्दै आएका थिए । राष्ट्रपतिबाट मनोनित गर्नसक्ने सिटमा प्रम ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई छनोट गरेका थिएनन् ।
सो सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई छनोट गर्ने निर्णय नेकपा सचिवालयले गरिसकेको छ । यो सँगै खतिवडाले राजीनामा दिने यसअघि नै स्पष्ट भैसकेको थियो ।