काठमाडौं । निषेधाज्ञाको समय पनि रानीवन क्षेत्रमा ग्याङ फाइट भएको छ । भलिबल खेलका क्रममा विवाद भएपछि घाइते भएकालाई उपचारका लागि ल्याइएकोमा ती समूह अस्पताल भित्र समेत हात हालाहाल गरेका हुन्।
दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा झगडा भएको थियो। पछि घाइतेलाई महानगरपालिका-१५ स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार गर्न अस्पताल ल्याएकोमा अर्को समूहले अस्पतालमै आक्रमण गरेको हो ।
यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रबहादुर धानुक र सुदीप देवकोटा छन्। प्रहरीका अनुसार उनीहरू अस्पतालमा कुटपिट गर्न अस्पताल पुगेका थिए।
अस्पतालका अनुसार झडप हुँदा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो।
अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताएको छ।
‘आकस्मिक कक्षभित्रका इसिजी मेसिन, ड्रेसिङ ड्रम, टुल, टिचल फोर्सेब र अन्य मेडिकल उपकरणहरू तोडफोड गरेको व्यहोरा अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार झडपमा १०-१२ जना घाइते भएका छन्।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए। पक्राउ पर्नेहरू पनि सामान्य घाइते छन्।