काठमाडौं । निषेधाज्ञाको समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा गएका युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
ती नेवार समुदायका युवाहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले पनि पानीको फोहोरा प्रयोग गरेको छ । नेवार समुदायका केही व्यक्तिले सामाजिक सञ्जालमा निषेधाज्ञा तोड्न आव्हान गरेपछि ती युवाहरु पुल्चोकमा जम्मा भएका हुन् । उपस्थितहरु अधिकांशले मास्क समेत नलगाएको बताइएको छ ।
रथ तान्न सयौँ स्थानीय झाँकीसहित आएका थिए। प्रहरीले माइकिङ गरेर रथ नतान्न निर्देशन दिएपनि नमानेपछि बल प्रयोग गरेको जानकारी दिएको छ।
रातो मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन रहेको छ । तर जारी निषेधाज्ञाका कारण सो सम्भव भएको थिएन ।
गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।
पछिल्लाेपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे। दशैंअघि नै रथालई बुङ्मती पुर्याउनु पर्ने मान्यता रहिआएको छ । यसअघि केहीले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय दिएका छन्।