काठमाडौं, १३ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा चैत ११ देखि देशमा लकडाउन घोषणा गरिएको छ । लकडाउन घोषणाको असर मिर्गौला रोगीलाई डायलासिस सेवा दिंदैआएका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा पर्न गएको छ । औषधि अभावमा मिर्गौला रोगीको डायलासिस सेवा दिन नसक्ने अवस्थामा स्वास्थ्यकेन्द्रहरु पुगिसकेका छन् ।
औषधि अभाव त छँदैछ, डायलासिसका लागि आवश्यक पानी समेत पाउने अवस्था नभएकाले सेवा बन्द गरिएको जानकारी केही स्वास्थ्य केन्द्रले दिइसकेका छन् । मिर्गौला रोगीको डायलासिसका लागि आरोबाट पानी शुद्ध गराउनुपर्छ । मिर्गौला रोगीको डायलासिस समयमा नभए उनीहरुको ज्यान जोखिममा पर्नसक्छ । औषधि अभावले डायलासिस सेवा बन्द नै गर्नुपर्ने अवस्थामा पुगेको जानकारी केही प्राइभेट अस्पतालहरुले दिइसकेका छन् ।
राजधानीका अधिकांश प्राइभेट अस्पतालले औषधि नपाएकाले डायलासिस सेवा बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । सरकारी अस्पतालको अवस्था पनि उस्तै छ । लकडाउनमा औषधि अभावको कारण देखाएर डायलासिस सेवा बन्द गरेमा करिब ५० हजारभन्दा बढी मिर्गौला रोगीहरुलाई असर पर्नेछ । मिर्गौला फेल भएर डायलासिस गराउनेको संख्या बर्षेनी बढिरहेको छ । बर्षेनी ३ हजारका दरले मिर्गौला रोगीको संख्या बढिरहेको छ ।
औषधि अभावमा डायलासिस सेवा बन्द हुन लागेकोबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटासँग मंगलबारदेखि प्रतिक्रिया लिन धेरै पटक प्रयास गर्दा पनि उनले मोवाइल रिसिभ गरेनन् ।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. महेन्द्रबहादुर बिष्टका अनुसार नेपालमा लगभग ३५ लाख मानिसहरु किड्नीका बिरामी छन् । डायलासिस गराउनेको संख्या पनि हजारौं छ । किड्नीका बिरामीका लागि राज्यले निःशुल्क डायलासिस सेवा दिएको छ । किड्नीको उपचार महंगो भएकाले २०७३ देखि सरकारले आजीवन निःशुल्क डायलासिस सेवा दिन सुरु गरेको हो । तर निःशुल्क डायलासिस सेवा दिन थालेपछि किड्नीका बिरामीको चाप अस्पतालहरुले धान्न सकेका छैनन् । एउटा अस्पताल वा स्वास्थ्य केन्द्रमा दैनिक १ सय जनाले डायलासिस गराउँदैआएका छन् । नेशनल किड्नी सेन्टरमा दैनिक ६० देखि ८० जनाको डायलासिस हुने गरेको छ ।
डायलासिस सेवा दिने अस्पताल र स्वास्थ्य केन्द्रहरु
नेपालमा डायलासिस सेवा दिने ५५ वटा अस्पताल र स्वास्थ्य संथाहरु छन् । काठमाडौं उपत्यकाभित्र त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, बीरेन्द्र सैनिक अस्पताल छाउनी, ग्रान्डी अस्पताल धापासी, अल्का अस्पताल जाउलाखेल, सुमेरु अस्पताल धापाखेल, हिमाल अस्पताल ज्ञानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, बयोधा अस्पताल बल्खुले डायलासिस सेवा दिने गरेका छन् ।
त्यसैगरी उपत्यकामा डायलासिस सेवा दिने अस्पतालहरुमा बी एण्ड बी अस्पताल, ललितपुर, भेनस अस्पताल मध्यबानेश्वर, ग्रिन सिटी अस्पताल धापासी, नेशनल डायलासिस सेन्टर, आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौं लगायत छन् । नेशनल डायलासिस सेन्टर काठमाडौंले बिराटनगर, रामेछाप, चितवन, तनहुँ, बुटवलमा पनि डायलासिस सेवा दिंदैआएको छ ।
उपत्यका बाहिर कोशी अन्चल उपत्यका बाहिर गौतमबुद्ध सामुदायिक अस्पताल बुटवल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र बिराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको छ ।
त्यस्तै, डायलासिस सेवा दिने अस्पतालहरुमा सेती अञ्चल अस्पताल, धनगढी, गण्डकी मेडिकल कलेज,पोखरा, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस, भैरहवा, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन, कलेज अफ मेडिकल साइन्सेस भरतपुर,चितवन, मणिपाल शिक्षण अस्पताल,पोखरा, गोल्डेन अस्पताल प्रा लि विराटनगर मोरङ, सिद्धार्थनगर सिटी हस्पिटल, बुटवल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, चरक मेमोरयल हस्पिटल पोखरा, नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि, विराटनगर मोरङ, क्रिमसन अस्पताल मणिग्राम रुपन्देही, लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर पोखरा, पुर्णटुङ विर्तासिटी अस्पताल, विर्तामोड, झापा, मेची अञ्चल अस्पताल भद्रपुर झापा लगायत छन् ।