काभ्रे । घरायसी विवादले कतिसम्म उग्र रुप लिन सक्छ भन्ने विषय काभ्रेको एक घटनाले देखाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजारमा सामान्य विवादबाट सुरु भएको झगडा हत्यासम्म पुगेको हो ।
बिहीबार बिहान ३५ वर्षीया बुहारी रन्जना तिमल्सिना (अधिकारी) र जेठाजु सुदर्शन अधिकारीबीच भनाभन भैरहेको थियो । सोही भनाभन बढेपछि भाँडा माझिरहेकी रन्जनालाई जेठाजु सुदर्शनले पछाडिबाट बञ्चरोले हाने । बञ्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सो घटना लगत्तै प्रहरीलाई खबर गरिएको थियो । काभ्रे प्रहरीले पनि सुदर्शनलाई तत्कालै पक्राउ गरेको जनाएको छ ।
घरायसी झै–झगडाकै कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी प्रहरीले मृतकको शव पोष्टमार्टमको लागि पठाइसकेको छ । यस्तै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।