काठमाडौं । अहिलेको सरकारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजादीले दुई क्याबिनेट र एक राज्य मन्त्री पाए पनि पार्टीका नेता र कार्यकर्ताले मन्त्री हुनुको अनुभूति गर्न पाएका छैनन् ।
पार्टी अध्यक्ष नेपालसँग गुनासो गर्न पुगेका नेता र कार्यकर्ताहरुले उनलाई भने अनुसार सबभन्दा बढी सरोकार जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाले आफ्नो सचिवालय व्यवस्थापन गर्न नसक्दा पार्टीकै मान्छेहरु अपमानित भएर फर्किनुपरेको छ । अरु त अरु स्थायी कमिटी सदस्य रामचन्द्र झालाई नै ज्वालाका सचिवालयका मान्छेहरुले ‘तपाईंलाई हामी चिन्दैनौं’ भनेर फर्काइदिएपछि झाले आफ्नो दुखेसो पार्टी अध्यक्षसँग पोखेका हुन् । झा धनुषा जिल्लाका विभिन्न योजनाहरुको सूची लिएर मन्त्रालय पुगेका थिए ।
मन्त्रीसँग भेट्न नपाएपछि उक्त सूची आलोकनगरस्थित पार्टी अध्यक्षको सचिवालयमा बुझाएर जनकपुर फर्किए । अरुले मन्त्री भेट्न र कुरा राख्न नपाएका गुनासो त छँदैछन्, उक्त पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालकै सचिवालयका मान्छेहरुले पनि ज्वालाको सचिवालयमा रेस्पोन्स नपाएको गुनासो गरेका छन् ।
भुसालका स्वकीय सचिव सुशील भट्टराई, दीपक आचार्यहरुले मन्त्रीका तर्फबाट बुझाउन चाहेका योजना लिएर मन्त्रालय जाँदा मन्त्रीसँग त भेट्न पाएनन् नै, सचिवालयमा पनि उनीहरुको कुराको वास्ता नभएपछि मन्त्री भुसाल आफैंले ज्वालालाई योजनाहरुको सूची बुझाए ।
नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजनको चटारो छ । योजनाहरु छनौट गर्ने र रातो किताबमा समावेश गर्ने कामका लागि सबभन्दा बढी योजना भौतिक मन्त्रालयमार्फत् जाने गर्दछ । बढी लागतका सडक, पुल र अन्य भौतिक पूर्वाधार माग गर्ने राजनीतिक अगुवाहरुको मन्त्रालयमा ताँती लाग्ने गरेको छ । अरुले मन्त्री भेट्न पाउँदा त्यही पार्टीका अर्का मन्त्रीका सचिवालय सदस्य, पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, जिल्लाका अध्यक्षहरु भेट्न नसकेर फर्किनुपरेको हो ।
ज्वालाले स्वकीय सचिवमा आफ्नै छोरा सन्तोष बिसीलाई राखेका छन् । उनी नियतबस बेइमानी त गर्दैनन् । तर, उनले पार्टीका नेता र कार्यकर्तालाई चिनेका छैनन् । बिसीले कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि नजानेका कारण उनको व्यवहारबाट पार्टीका नेता र कार्यकर्तामा अपमानबोध भएको गुनासो अध्यक्षसँग गरेका छन् । पत्रकारिता पृष्ठभूमि भएका जीवन बीसी पनि मन्त्रालयमा देखिन्छन् । तर, उनी आफू स्वकीय सचिव नभएर व्यक्तिगत सम्बन्धका आधारमा मन्त्रीलाई सहयोग गरिरहेको भन्ने गर्दछन् । निजी सचिवका रुपमा कालिकोटको सीडीओबाट भर्खरै सरुवा भएका उपसचिव रामहरि शर्मा हाजिर भएका छन् । उनले पनि कामको मेसो पाउन सकेका छैनन् । भेट्न गएका मान्छेहरुलाई उनले आफू भर्खरै आएको कारण कुरा बुझ्न बाँकी रहेको भन्ने गरेका छन् ।
एकातिर ज्वालाको सचिवालय व्यवस्थित नहुँदा पार्टीका मान्छेहरु रुष्ट छन् भने अर्कातिर कृषि मन्त्री भुसालको सचिवालयमा मान्छेहरु हुँदा पनि कामले गति लिन सकेको छैन । उनको सचिवालय व्यवस्थित छ, तर सचिवालयका सदस्यहरुले मन्त्रालयका काम, गतिविधि र कार्यक्षेत्रबारे बुझेका छैनन् । मन्त्रालयमा केही कर्मचारी अनुदान बाँडेर त्यसको कमिसन खाइरहेका छन् । पार्टीका मान्छेहरुले कृषि अनुदानका फाइल लिएर जाँदा मन्त्रीको सचिवालयमा रहेका मान्छेहरुले अनुदान बन्द भएको जवाफ दिने गरेका छन् ।
भौतिक मन्त्रालयमा मन्त्री एकीकृत समाजवादीका नेता भए पनि कर्मचारीको अह्रनखटन माओवादीबाट हुने गरेको छ । यसअघिका मन्त्री नारायणकाजी श्रेष्ठका विश्वासिला इन्द्रमणि पोखरेल मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा छन् । अहिले श्रेष्ठ गृहमन्त्री छन्, तर भौतिकका सरुवा र काज उनैले भने अनुसार हुने गरेका छन् ।
कृषि मन्त्रालयमा त्यस्तै लथालिङ्ग छ । समाजवादी छोडेर एमालेतिर गइसकेका भोला पोखरेलहरुको निर्देशनअनुसार कर्मचारी चल्ने गरेका छन् । मन्त्रीलाई कांग्रेस र एमाले कर्मचारीहरुले घेरामा राखेका छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend