Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेनेन्जाइटिस रोगले ग्रसित सन्दीपको जीवन: जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै


    मंगलबार, भाद्र १६ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन्।

    सुरूमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन्।

    उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन्। त्यतिमात्र होइन, उनी आफैं खानसमेत सक्दैनन्। सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ।

    सुरूवातमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन्।

    ‘नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन’, सुवेदीले भने। शारीरिकरूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ।

    आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गरे।

    सुवेदी परिवारका अन्य दुई सन्तान भने सपाङ्ग नै छन्। ‘रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन’, आमा कल्पनाले रुँदै भनिन्, ‘न धन बच्यो, न सपाङ्ग नै भयो।’

    देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन्।उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ।

    आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ। नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरूको छ।

    ‘अब त निको होला भन्ने आश पनि मरिसक्यो’, कल्पनाले भनिन्, ‘यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन।’

    भगवानले पनि आफ्नो जस्तो गरिब परिवारमा बज्रपात पारिदिएको कल्पनाको दुखेसो छ।

    सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ।

    सन्दीपले पूर्ण अपाङ्गताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पाँच हजार रूपैयाँ सहयोग पाएका छन्।

    यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस् कुनै पनि सहयोग नपाएको गुनासो उनीहरूको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार