काठमाडौं, १२ चैत । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपालीले पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका हुन् ।
साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार ४ सय ४१ रूपैयाँ कांग्रेस प्रवक्ता तथा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथाप्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर हस्तान्तरण गरेका हुन् ।
‘कोरोनाजस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रहका साथ साइप्रसको नेपाली जनसम्पर्क समिति, साउदी, युएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको १ लाख ३५ हजार ४ सय ४१ रुपैयाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ, श्रद्धेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ,’ शर्माले भने ।