काठमाडौं, १२ चैत । महानगरपालिकाले आजबाट महानगर क्षेत्रभित्र अस्पतालसहितका सार्वजनिक स्थानलाई (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
१ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएको हो । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएका छन् ।
कामपाले ‘अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीर अस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालेको हो । सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडकलाई पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिने कामको शुरुवात गरिएको मेयर शाक्यको भनाइ छ ।