डोटी, १२ चैत । डोटीबाट नोबेल कोरोना भाइरसको आशंकामा एक युवकको स्वाब परिक्षणको लागि काठमाडौ पठाइएको छ । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका उनी डोटी जिल्ला अस्पतालको सम्पर्कमा आएका थिए । हाल उनलाई सोही अस्पतालको आइसोलेसन वार्डमा कोरोना संक्रमणको आशंकामा राखिएको छ ।
उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उहाँको स्वाब एम्वुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ डा पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ ।’
रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा पाण्डेले बताइन ।
डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको डा पाण्डेले जानकारी दिइन् ।
संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।