काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीेले कर्मचारी सरुवामा ब्यापक पैसा असुली गरेका छन् । उनले देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवामा दररेट नै तोकेर असुली गरेको आरोप मन्त्री मोदीमाथि लागेको छ । मन्त्री मोदीले स्थानीय तहका कर्मचारी सरुवा र भइरहेकाहरुको थमौतीका क्रममा करोडौं संकलन गरिसकेको बिषय प्रतिनिधिसभामै उठेको छ । केही दिनअघि मन्त्री मोदीले कर्मचारी सरुवामा ठूलो रकम उठाएको बिषयमा प्रतिनिधिसभा सदस्य सरिता प्रसाईले बिरोध गरेकी थिइन् ।
सदनमै कुरा उठे पनि मन्त्री मोदीले सरुवा र थमौतीमा रकम संकलनको क्रम भने जारी नै राखेका छन् । सरुवामा दररेट तोकेर करोडौं असुली गरेका मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी सरुवा नगर्न दबाब दिएको भन्दै बालुवाटारको बदनाम गराउने काममा भने सक्रिय देखिएका छन् । मन्त्री मोदीले कार्यभार सम्हालेपछि त सामान्यका सरुवामा करोडौं रुपैयाँ आर्थिक गरेको आरोप छ ।
विगतमा सरुवाको सूची मन्त्रालयको बेबसाइटमार्फत् सार्वजनिक गर्ने प्रचलन रहे पनि मोदी आएपछि गुपचुप राखिने गरेको छ । आर्थिक लेनदेन मिलेपछि गुपचुपमै सरुवा संशोधन समेत हुँदैआएको छ । सहसचिव, सचिव र मन्त्रीस्तरीय निर्णयबाट भएका सरुवामात्र होइन, मन्त्रिपरिषदबाट भएका सरुवा समेतमा आर्थिक लेनदेन गरी कैंची लगाउने काम सामान्य प्रशासन मन्त्रालयबाट हुँदैआएको गुनासो कर्मचारीहरु गर्छन् । घरमै बिदामा बसेका कर्मचारीलाई एक दिन समेत पर्खिने धैर्यता नदेखाई सरुवापत्रमा हस्ताक्षर गर्न कार्यालय सहयोगीलाई पठाउने प्रचलन पनि मन्त्री मोदीकै पालामा सुरु भएको छ ।
सामान्यको नेतृत्वले अन्य तहको सरुवामा पनि नियम, बिधि, पद्धति र आवश्यकताभन्दा आर्थिक लाभलाई नै महत्व दिने गरेको गुनासो प्राप्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मोदीले लिएपछि सरुवामा आर्थिक चलखेल हुने पूर्वानुमान छँदैथियो, त्यसमा पनि चतुर र चलखेलमा अनुभवी सचिव कृष्णहरि पुस्कर कर्ण र सहसचिवमा पनि उनकै विश्वासपात्र कमलप्रसाद भट्टराई आएपछि पूर्वानुमान सत्यतामा परिणत भइरहेको छ ।
यो टीमले बजारमा अनुमान गरिएबमोजिमको कुरालाई पुष्ट्याँई गर्ने काम गरिरहेको छ । मोदीले सरुवामा रकम असुलीका लागि निजी सचिव ज्ञाननाथ ढकाल, स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईलाई परिचालन गरेका छन् ।सामान्यका पछिल्ला सरुवामा ढकाल र राईले बिचौलियाको भूमिका खेलेको चर्चा मन्त्रालयभित्रै ब्याप्त छ । सरुवामा खुलेआम असुली गर्ने क्रम बढेपछि सामान्य प्रशासन मन्त्रालय मालपोत कार्यालयमै रुपान्तरण हुन लागेको टिप्पणी हुन थालेको छ ।
राजनीतिक पहुँच नभएका कर्मचारीहरु अहिले आकर्षक कार्यालयमा टिक्न र सरुवा हुनका लागि निजी सचिव ढकाल र राईको दररेट अनुसार बुझाउनुपर्ने बाध्यतामा रहेको बताउछन् । उनले माथि बुझाउनुपर्छ भन्दै कर्मचारीसँग असुली गर्ने गरेको आरोप छ । प्रशासन समूहकै उपसचिव ढकाल मन्त्रीको सचिवालयमा भएपछि कमाउ अड्डामा रहेका कर्मचारीहरुलाई हाइसन्चो भएको छ । काठमाडौं उपत्यकाका स्थानीय तहमा बसेर त्यहाँको बजेटबाट कुस्त कमिसन खान पल्किएका केही धनपति प्रमुख प्रशासकीय अधिकृतहरु ढकालको चित्त बुझाएर थमौती भएका छन् । यो अभियानमा एक बर्ष अवधि पुगेका काठमाडांै उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरु छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठ सापकोटा मन्त्री मोदीलाई ठूलै थैली बुझाएर थमौती भएको स्र्रोतको दाबी छ । स्रोतका अनुसार काठमाडौंको सबैभन्दा बढी बजेट भएको र आकर्षक नगरपालिकाका रुपमा चिनिएको गोकर्णेश्वरको सरुवामा २० लाख रुपैयाँसम्मको बोलकबोल भएको र त्यसमा हालकै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले लिलाम सकारी थमौती भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठप्रसाद सापकोटाले मोदीको दररेट अनुसार लिलाम सकारेर थमौती भए पनि बुढानीलकन्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले भने अस्वीकार गरेका कारण उनको सरुवा भएको छ ।
सधैं तर मार्ने ठाउँमा बस्दैआएका उपसचिव बैकुन्ठ सापकोटा क्षमताका हिसाबले कमजोर उपसचिवका रुपमा चिनिन्छन् । मातृकाप्रसाद यादव उद्योग मन्त्री हुँदा आफूलाई माओवादी निकट कर्मचारी हुँ भन्दै सचिवालयमा समेत बसेका बैकुन्ठले त्यहाँ रहँदा उद्योग, बाणिज्य विभाग र कम्पनी रजिष्टार कार्यालयका कर्मचारीबाट प्रहरीका घुमुवा जस्तो हप्ता असुली गर्ने गर्दथे भन्ने चर्चा अझै पनि ती निकायमा हुने गरेको छ ।
बुढानीलकन्ठ र गोकर्णेश्वर आर्थिक रुपमा स्रोत साधन सम्पन्न र काम गर्न पनि सहज पालिकाका रुपमा चिनिन्छन् । यी दुवै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठले एक बर्ष पुगे पनि सरुवा थमौती गराएका छन् ।
काठमाडौंका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सरुवा र थमौती गर्दा १० लाख भन्दा माथि दररेट कायम गरिएको छ भने त्यसपछि मधेश प्रदेशका नगरपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा ३ देखि ५ लाख रेट राखिएको छ । मधेश प्रदेश र कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाको रेट लगभग एउटै राखिएको छ । यसरी सरुवामा लिलाम बढाबढ गरेका मन्त्री मोदीले तल्लो तहमा कार्यरत कर्मचारीको सरुवा गरेको ढोल पिटेर आफ्नो करोडौको सरुवाखेती ढाकछोप गर्दैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend