Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अर्थसचिवमा तीन जनाको चर्चा, आरजु राणाको सिफारिसमा को पर्ला ?


    मंगलबार, चैत्र २१ २०७९
    4.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री फेरिएसँगै अर्थमन्त्रालयको सचिव पनि परिवर्तन हुने चर्चा सुरु भएको छ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त भइसकेपछि अर्थ सचिव तोयम रायको निरन्तरता नहुने निश्चित जस्तै छ । अघिल्ला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पदबहाली गरेकै १० दिनमै गएको पुस २३ गते तत्कालीन अर्थसचिव कृष्णहरि पुस्कर कर्णको सरुवा गरी तोयम रायलाई भित्र्याएका थिए ।

    एमालेसँगको गठबन्धन टुटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललले नै अर्थमन्त्रालयको बागडोर सम्हाल्दैआएका थिए । मन्त्री नियुक्त नभइसकेकाले रायको सरुवा नभए पनि डा. महत अर्थमन्त्री भएर आएपछि सचिवमा नयाँ अनुहारको खोजी भइरहेको छ । डा. महत नेपाली कांग्रेस नेतृ डा. आरजु राणाको कोटामा मन्त्री भएकाले सचिव चयनमा पनि उनको सिफारिस नचल्न सक्छ ।

    आरजुको सिफारिसमा अर्थसचिवको जिम्मेवारी पाउनका लागि सबैभन्दा बढी दौडमा २ महिनाअघि बाहिरिएका हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर नै लागेका छन् । उनी २ महिनामै अर्थमा फर्किने दाउमा छन् । आरजु अहिले आमा प्रतिभा राणाको उपचारमा भारतमा भएकाले सचिव परिवर्तन पनि उनी फर्किएपछि मात्र हुने आँकलन गरिएको छ । आरजुको फिर्तीसँगै अर्थसचिव परिवर्तन हुने बताइएको छ ।

    मन्त्री महतले अर्थसचिवमा हालै सूचना तथा संचार प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएका बैकुन्ठ अर्याललाई ल्याउन चाहेका छन् । उनको कार्यकाल आगामी असारमै सकिने भएकाले बजेट बनाउनका लागि भए पनि उनलाई ल्याउने पक्षमा महत छन् । तर आरजुको रोजाइमा भने उनी नपरेकाले कर्णकै भाग्य चम्किने स्रोत बताउँछ । स्रोतका अनुसार पुस्करले आफू अर्थमा फर्किने हल्ला चलाए पनि आरजु राणाको कोटामा मधु मरासिनी अर्थमा जाने संभावनालाई समेत नकार्न नसकिने अर्थ मन्त्रालयमा काम गरेका एक बरिष्ठ सहसचिव बताउँछन् ।

    गतबर्ष जेठ १४ गते मध्यराति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नायबसुब्बा तहका कर्मचारी रघु घिमिरेलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको बिषय सार्वजनिक भएपछि मधु मरासिनी अर्थबाट बाहिरिएका थिए । मरासिनी बाहिरिएपछि राजस्व सचिव पुस्करलाई अर्थको जिम्मेवारी दिई राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई लगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार