काठमाडौं । मनमोहन अस्पतालले तथा मेडिकल कलेजले काठमाडौंको दहचोकमा ३३३ शय्याको अस्पतालबाट सेवा दिन सुरु गरेको छ ।कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने एवं आवश्यक उपचारको लागि कलेजले ३३३ शय्याको अस्पतालबाट सेवा दिन सुरु गरेको हाे।
७ वटा ल्याबसहित सञ्चालनमा आएको सो अस्पतालमा हालसम्म ६८ जना कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । क्वारेन्टिन सञ्चालन गर्नका लागि नेपाल सरकारले गरेको अनुरोधलाई स्वीकार गर्दै कोभिडका बिरामीको उपचारका लागि सरकारलाई भौतिक संरचना उपलव्ध गराए पनि कोभिड १९ का बिरामीहरुको उपचार तथा अस्पताल सञ्चालन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुबाट नै गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मेडिकल कलेजले भदौ २ गतेदेखि कोरोनाका बिरामीहरूको उपचार सुरु गरेको अस्पतालको सञ्चालक नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
संस्थाले दिएको जानकारी अनुसार सो अस्पतालको भौतिक संरचना गत जेठ २५ गते नै नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको हो । तर कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नका लागि भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी र त्यहाँ लाग्ने सम्पूर्ण औषधि तथा अन्य आवश्यक उपकरणहरू÷आइसोलेसनको व्यवस्थापन अस्पताल प्रशासनले गर्ने अध्यक्ष पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।