Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    आज शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। हिजो उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो ।

    प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफूमाथि १७ हजार हत्या गरेको आरोप लाग्ने गरेको भन्दै सबै आरोप आफूमाथि लगाए अन्याय हुने बताएका थिए । तर आफूले पाँच हजारको जिम्मा लिन तयार रहेको र बाँकी १२ हजारको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको भनाई थियो ।

    सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

    सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।तर, न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले उक्त रिट दर्ताको आदेश दिएका थिए ।

    साथै आज सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

    हेर्नुहोस् सर्वोच्चको आदेश :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार