किशोर सापकोटा, अमेरिका, लुइभेल
आजबाट अमेरिकामा कोरोना भाइरसले डढेलोको रुप लिएको महसुस भएको छ । आज (मंगलबार) मात्रै १ सय जनाभन्दा बढी अमेरिकी नागरिकले कोरोना भाइरसको कारण मृत्युवरण गरेका छन् । अमेरिकामा अहिलेसम्म कुल ५ सय ४० जनाको निधन भइसकेको छ भने ४२ हजार ६०० संक्रमित पुष्टि भएका छन् । पक्कै पनि यो अमेरिकी समस्यामात्र होइन, अहिलेको तथ्यांक अनुसार विश्वभर ३ लाख ८१ हजार भन्दा वढी मानिसहरु संक्रमित भइसकेका छन् भने १६ हजार ५ सय ७२ को निधन भइसकेको छ ।
अमेरिकी सरकारी प्रयासका बाबजुद कोरोनाको संक्रमण रोकिने लक्षण देखिएको छैन, झन्झन् तीव्र हँुंदैछ । देशको कुल जनसंख्याको करिव ४२ प्रतिशत यानेकी कुल १३ करोड ८० लाख मानिसलाई घरमा नै वस्नका लागि ‘स्टे एट होम’ अर्डर जारी भएको छ । ु‘स्टे एट होम’ अर्डर जारी भएका क्यालिफोर्निया, इलिनोइस, न्युजर्सी, न्युयोर्क, लुजियाना, कनेक्टिकट, वासिङ्टन, ओहायो, न्यू मेक्सिको, म्यासाचुसेट्स, डेलावर, मिचिगन, वेष्ट भर्जिनिया, इण्डियाना, हवाई राज्यमध्ये धेरैजसोमा आदेश कार्यान्वयनमा आइसकेको छ भने केहीमा आज र केहीमा भोलि कार्यान्वयनमा आउंँदैछ ।
भाइरस संक्रमणवाट पीडित हुंँदै गएका जनतालाई कसरी राहत दिने भन्ने विषयमा सत्तारुढ रिपव्लिकन र विपक्षी डेमोक्रेटिक पार्टी सहमतिमा नपुग्दा सिनेटमा विल अड्किरहेको छ । समयमा नै जनताले राहत पाउन सकेनन् भने कोरोना भाइरसभन्दा अर्को ठूलो विपत्ति आउने हो कि भन्ने त्रास सर्वसाधारणमा रहेको छ । विमान कम्पनी, व्यापारिक प्रतिष्ठानदेखि सर्वसाधारण जनतालाई कसरी राहत दिने भन्ने विषयमा दुई पार्टीको मत मिल्न सकेको छैन ।
कोरोनाको संकट गहिरिदै जाँदा जातिवादी समस्या पनि आउला कि भन्ने चिन्ता पनि सर्वत्र छ । सुरुका दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसलाई ‘चिनिया भाइरस’ भनिदिने गरेर पहिचानको समस्या सिर्जना भएको आरोप पनि लाग्दै गरेको छ तर राष्ट्रपति ट्रम्पले आज यसलाई जातिवादी समस्या हुन नदिने उदेश्यले ट्वीट गरेका छन् ।‘अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै जानुमा एशियन अमेरिकनको कुनै त्रुटी छैन’ ट्वीटरमा ट्रम्पले भनेका छन्–हामी एशियन–अमेरिकन कम्युनिटीलाई अमेरिका र विश्वमा संरक्षण गर्नेछौं ।
विरामीहरुको संख्या दिनदिनै थपिंदै जांदा अहिले अस्पतालमा विरामी राख्ने ठाउँको अभाव हुंँदै गएको छ । अमेरिकामा सवैभन्दा पहिला ‘स्टे एट होम’ को आदेश जारी गर्ने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले विरामीहरुको चापलाई धान्न आफ्नो राज्यलाई तत्कालै ५० हजार बेड आवश्यक भएको बताएका छन् । यही अवस्था सवै राज्यमा रहेको छ । अमेरिकाका लागि अहिले सवैभन्दा ठूलो आपत्ति भनेको स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्सनल प्रोटेक्शन इक्विपमेन्ट (पीपीई) जुटाउनु नै हो ।
विरामीहरुको चाप बढ्दै जाँदा स्टकमा भएका पञ्जा, मास्क लगायत अन्य सामग्रीहरु दिनदिनै सकिदै गएका छन् । कतिपय अस्पतालमा १ सयभन्दा पनि तल मास्क रहेका छन्, जसले काम गर्ने चिकित्सक, नर्स र नर्स एडहरुको जीवन पनि खतरामा पर्ने देखिएको छ । यदि स्वास्थकर्मीहरुले पीपीई पाएनन् भने विरामीहरु अस्पतालमा हुने तर स्वास्थकर्मीहरु ‘कल इन’ गरेर घरमा वस्ने अवस्था सिर्जना हुने खतरा पनि उत्तिकै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कलाई सेनिटाइज गरेर प्रयोग गर्न सकिने बताएपनि स्वास्थ्यकर्मीहरुले यसलाई अस्वीकार गरेका छन् ।
न्युयोर्कका मेयरले यो हप्तालाई मात्रै धान्ने स्वास्थ सामग्री भएको बताएका छन् भने इलिनोयका गभर्नरले त स्वास्थ्य सामग्रीहरुको माग तीव्र बन्दै जाँदा राज्य–राज्यहरुवीचमा नै सामग्री किन्न अस्वस्थ प्रतिस्पर्धा सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्तो अवस्थामा एक नर्सले त्रसित हुंदै सीएनएनसँग भनेकी छिन्–‘हामी अस्पताल पुग्दा आफूलाई बधशालामा पुर्याइएको भेडोझैं महसुस गर्छौं ।’
यति ठूलो महामारी हुंँदा पनि आज दिउँसो म बसेको शहर लुइभेलमा अघिल्ला दिनहरुभन्दा जनजीवन सामान्य थियो । वालमार्टमा मानिसहरु निसंकोच किनमेलमा व्यस्त थिए र आज अन्य दिनभन्दा उपभोग्य सामग्रीहरु पनि बढी उपलव्ध थिए । अघिल्ला हप्ताहरुमा अत्याधिक सामान खरिद गरेकोले यो हप्ता बजारमा सामग्रीहरु देखिन थालेको हो तर मानिसहरु मनमौजी बन्दै गएको र कोरोना संक्रमणपट्टि ध्यान नदिएको कारण यो महामारी झन् वढ्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
यथार्थमा भन्दा संसारको सर्वशक्तिमान देश अमेरिकाका आगामी दिनहरु ‘भगवान भरोेसे’ छन् ।
(पत्रकार किशोर सापकोटाले अमेरिकामा कोरोनाको संक्रमण डढेलोसरी फैलिएको र अस्पतालहरुमा बिरामी राख्ने ठाउँसमेत अभाव हुन थालेकोबारेमा १ घन्टा अगाडि सामाजिक संजाल फेसबुकमा पोष्ट गर्नुभएको विचार नेपालका लागि पनि पाठ हुनसक्छन् भनेर स्थान दिइएको हो ।)