Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले दूधको मूल्य लिटरमै १४ रुपैयाँसम्म वृद्धि गर्यो


    शनिबार, फाल्गुन २० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सरकारले कच्चा दूधको मूल्य बढाएको छ । हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो ।

    उक्त दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

    ‘यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए, अब प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन्,’ उनले भनिन्, ‘किसानलाई आर्थिक राहत हुने गरी कच्चा दूधको मूल्य बढाइएको हो ।’ किसानलाई लाभ हुने गरी नै सरकारले मूल्य बढाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।

    मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो । त्यसपश्चात् अध्ययनका नाममा सरकारसँग मिलेमतो गरी प्रतिलिटर १४ रुपैयाँ बढाउने तयारी थियो । त्यसको पनि विरोध भएपछि दाना, चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको थियो । बोर्डको प्रस्तावका आधारमा कृषिले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको हो ।

    मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी)लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुन्छ ।

    डीडीसीले देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध खरिद गर्दै आएको छ । दूध खरिद गरेबापत सहकारीलाई ‘टीएस’ खर्च दिइन्छ । डीडीसीका अनुसार किसानको मूल्यबाहेक सहकारीलाई प्रतिलिटर ४ रुपैयाँ दिइन्छ ।

    सरकारले किसानले पाउने मूल्य बढेसँगै सहकारीले पाउने मूल्य पनि बढ्ने जनाएको छ । त्यसको प्रत्यक्ष असर भने दूधको खुद्रा मूल्य र दूधबाट उत्पादित वस्तुको मूल्यमा पर्नेर्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार