काठमाडौं । नेपाल प्रहरीमा आगामी चैत ११ गतेदेखि रिक्त हुने महानिरीक्षक (आईजीपी)को दौडमा १६ डीआइजी छन् । एकै दिन बढुवा भएका १७ डीआईजीमध्ये तेस्रो नम्बरका डीआईजी अशोक सिंह उमेर ढाँटेर जागिर खाएको सार्वजनिक भएपछि राजीनामा दिएर बाहिरिसकेका छन् ।
पाचौं नम्बरका डीआईजी श्यामलाल ज्ञवालीले प्रहरीको कर्मचारी प्रशासन शाखाको डोर्सिएर फाइलबाट २०२४ मा बनाएको नागरिकताको प्रलिलिपी दाजु आइजीपी हुँदा गायब बनाए पनि त्यो सार्वजनिक भएपछि उनीमाथि पनि राजीनामा दिन दबाब परेको छ ।
अर्का डीआइजी भीमप्रसाद ढकालले २०२४ को नागरिकताका आधारमा उमेर ढाँटेरै जागिर खाएको भए पनि उनले भोजपुर जिल्ला प्रशासन कार्यालयबाट ढड्डामै संशोधन गराएको भनी ढुक्क भएर बसेका छन् । ढकालले २०२४ साल मंसिर २८ मा नागरिकता लिएको भए पनि भोजपुरका प्रमुख जिल्ला अधिकारीले नागरिकताको पछाडिपट्टि २०२५ साल मंसिर २८ लेखेर संशोधन लेखेका थिए । मिति नै संशोधन गर्ने गैरकानुनी कार्य प्रजिअले गरेकाले ढकाल नागरिकता प्रकरणमा झमेलामा पर्ने संभावना छ ।
२०७९ असार १९ मा बढुवा भएका १७ डीआईजीमा वसन्तबहादुर कुँवर पहिलो वरियतामा छन् । त्यसपछि दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली हुन् । अशोक सिंह बाहिरिसकेका छन् । उनको राजीनामा समेत स्वीकृत भइसकेको छ । बाँकी ४ मध्येबाटै एक डीआईजी आगामी चैत ११ मा आईजीपी हुनेछन् । एकै दिन बढुवा भएकाले डीआईजी किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणामध्येबाट पनि कतिपयले आइजीपीको दाबी गर्नु स्वभाविकै हो । तर कुँवर, राई, थापा र ज्ञवालीमध्येबाटै नेपाल प्रहरीको ३० औं आइजीपी नियुक्ति हुने संभावना प्रबल छ । त्यसमा पनि पहिलो नम्बरका कुँवर अशोक सिंह बाहिरिएपछि आफू नै नियुक्त हुने निश्चित भन्दै दौडधुप गरिरहेका छन् । सरकारमा नेपाली कांग्रेसकै गठबन्धन फर्किएपछि उनी झन् ढुक्क भएका छन् ।
विवादमुक्त छैन कुँवरको छवि, ३ महिनामै मिसनबाट फिर्ता भएका थिए ?
आइजीपीका दाबेदार कुँवरको पनि विगत विवादमुक्त छैन । सन् २०११ मा हिरासतमा रहेका बन्दीलाई यातना दिएको आरोपमा उनलाई संयुक्त राष्ट्रसंघले लाइबेरिया मिसनबाट फिर्ता पठाएको थियो । उनी बृत्त बालाजुको डीएसपी बालाजुमा हुँदा पक्राउ गरी ल्याएका एक ब्यक्तिलाई आफैंले यातना दिएको आरोप लागेको थियो । उनले हिरासतमा राखिएका ती ब्यक्तिलाई १५–२० दिनसम्म कुटेर यातना दिएको बिषय निकै विवादमा परेको थियो । बालाजुको डीएसपी भएलगत्तै उनी शान्ति मिसनमा लाइबेरिया गएका थिए । ३ महिनामै मिसनबाट मानवअधिकार हननको चार्जमा फर्काइएका थिए । यसले उनी कमाण्ड कन्ट्रोलमा कमजोर र आवेशमा आउने स्वभावका रहेको देखाउँछ ।
त्यसैगरी आर्थिक मामिलामा उनको त्यति धेरै विवाद नआए पनि चितवनको एसपी हुँदा घर जग्गा जग्गा ब्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा प्रहरी परिसरभित्रै भवन बनाउने कमिटी बनाउँदा अनियमितता गरेको आरोप छ । १ करोड लागतमा निर्माण हुने उक्त भवन निर्माणका लागि रियट स्टेटका कारोबारी अधिकारीलाई परिचालन गरी २ करोड बढी उठाएका थिए । चितवनका ह्याचरी ब्यवसायीदेखि क्रसर ब्यवसायीसँग लागत भन्दा दोब्बर रकम उठाइएको थियो । तर चितवनबाट कुँवर सरुवा भइसकेपछि पनि भवनको गिटी बालुवाको समेत रकम नतिरेको आरोप उनीमाथि लाग्दैआएको छ । कुँवर सरुवा भएपछि भवन निर्माणको रकम माग्न आएपछि लेखापालले प्रहरी मुख्यालयमा पत्राचार गरेर हेडक्वाटरबाट बजेट निकासा गरेर भुक्तानी गरिएको थियो । लागत भन्दा दोब्बर रकम उठाएर हिनामिना गरेको बिषयको जवाफ पनि उनले दिएका छैनन् ।
कुँवर प्रहरी निरीक्षकमा भर्ना हुँदा चौथो वरियतामा थिए । डीएसपी हुँदा १० नम्बरमा बढुवा भए । एसपीमा पुनः ४ नम्बरमा आए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको र दाजु बाबुराम कुँवर महान्याधीवक्ता भएका कारण एसपीमा ४ नम्बरमा आएको भन्ने चर्चा भएको हो । एसएसपी हुँदा १३ नम्बरमा पुगे । एसएसपीमा झन्डै बढुवामा छुटेका थिए । शिक्षिका रहेकी श्रीमती एमाले निकट शिक्षक संगठनको नेतृ भएकाले बल्लतल्ल १३ औं वरियतामा एसएसपीमा बढुवा भएका थिए । डीआईजी बढुवा हुँदा पुनः देउवा प्रधानमन्त्री भएकै कारण पहिलो नम्बरमा आउन सफल भएका थिए ।
डीआईजीको काजफिर्ता गर्ने भाषणमात्रै, बदनामहरु फिर्ता भएनन्
गृहमन्त्रालयले २०७९ पुस २८ मा १७ गरेको डीआइजीको सरुवामा मधेश प्रदेश प्रहरी कार्यालयमा बसन्तबहादुर कुँवरलाई खटाएको थियो । मधेश प्रदेशमा सरुवा हुनासाथ डीआईजी कुँवरले ८ वटा जिललाको निरीक्षण भ्रमण गर्ने क्रममा अरु जिल्लामा दरबन्दी भई काजमा कार्यरत प्रहरीलाई फिर्ता गर्न निर्देशन दिएका थिए । डीआईजी कुँवरको निर्देशन अनुसार केही प्रहरीको काजफिर्ता पनि भएको छ । तर विवादित प्रहरीको काजफिर्ता हुनसकेको छैन । अर्कै प्रदेशमा दरबन्दी भए पनि बर्षौदेखि मधेश प्रदेशका पर्सा, बारा, रौतहट र धनुषा, सर्लाहीमा बसेर तस्करसँग सेटिङ गर्नेहरुलाई डीआईजी कुँवरले चलाउन सकेका छैनन् । भावी आइजीपीको प्रतिस्पर्धामा पहिलो वरियतामा रहेका कुँवरले पहिला काजफिर्ता गर्ने चर्का कुरा गरे, तर पछिल्ला दिनमा भने उनी एकाएक किन सेलाएका छन् । बोलेको कुुरा पूरा गर्न नसकेको आरोप उनीमाथि लागेको छ । स्रोतका अनुसार पछिल्ला दिनमा मधेश प्रदेशका पर्सा, बारा, रौतहट र धनुषाबाट तस्करी समेत बढिरहेको छ ।
त्यस्तै अर्कै प्रदेशमा दरबन्दी भएका प्रहरी नायब निरीक्षक (सई) हुन् धनुषाका बब्लु ठाकुर । उनको दरबन्दी प्रदेश १ को उदयपुर जिल्लामा छ । उनी असईमा जागिर प्रवेश गरेदेखि धनुषा छाडेका छैनन् । धनुषाका एसपी विश्वराज खड्काले तस्कर र चेक बाउन्सदेखि विभिन्न केसमा डिल गर्ने घुमुवा नै हुन् उनी । उनी पहिला धनुषाको वडा प्रहरी कार्यालय मुझेलियामा थिए । मुझेलियामा हुँदा पनि खड्काको कारोबार हेर्ने उनै थिए । अहिले खड्काले उनलाई असुलीमा सहज होस् भनेर जिल्ला प्रहरी कार्यालय प्रशासनमा राखेका छन् । एसपीको तर्फबाट डिल गर्ने घुमुवाको काम उनले नै गर्दैआएका छन् । मातहतका चौकीका सईसम्म इन्चार्ज हुने ठाउँबाट समेत मासिक उठाउने काम उनले गर्दैआएका छन् ।
धनुषाका सीमा नाकाबाट नेपाल र भारतमा तस्करी गर्ने तस्करीका बादशाह राजीव महासेठसँग पनि बब्लु ठाकुरको हिमचिम बाक्लो छ । बब्लुले तस्करीको लाइन पाएकाहरुसँग हाकिमको नाम लिएर कुनैसँग वासिङ मेसिन, फ्रीज माग्ने गरेका छन् । कमला खोलामा स्काभेटर प्रयोग गरी दोहन गर्ने क्रसर ब्यवसायी बेचन शर्माबाट समेत उनले नै मासिक रुपमा लिने गरेका छन् । बेचन शर्माका गोदार र ढल्केमा ठूला क्रसर छन् । कमला नदीबाट स्काभेटरबाट नदीजन्य पदार्थ दोहन गरे पनि सई ठाकुरलाई मासिक रुपमा बुझाएकाले उनले छुट पाएका छन् ।
नदीमा स्काभेटर प्रयोग गर्दा चुरे विनाश हुँदैआएको छ । तर कमला नदीमा स्काभेटर प्रयोग गरी दोहन गर्ने शर्मालाई एसपी खड्काका घुमुवा सई बब्लुले संरक्षण गर्दैआएका छन् । सई ठाकुरले राजीव महासेठ र बेचनसँग धनुषाबाट ढल्के आउने क्रममा बाबाको ढावा भन्ने होटलमा घुस लेनदेन गर्ने गरेको स्रोत बताउँछ । शर्माले मासिक २ लाख रुपैयाँ नदी दोहन गर्न छुट पाएबापत बुझाउँदैआएका छन् । जनकपुरको जीरो माइलमा घर भएका सई ठाकुरले जागिरमा प्रवेश गरेदेखि धनुषाको एसपीको घुमुवा बसी स्कोरपियो गाडी समेत खरिद गरेका छन् । उक्त गाडी आफैंले चलाएर साइडमा हाकिमलाई राखेर तस्कर, क्रसर ब्यवसायी र ठूला कारोबारीसँग भेटघाट गराउँदैआएका छन् ।
२ बर्षअघिका धनुषाका एसपी रमेश बस्नेतको कार्यकालमा धनुषाको औरही भन्ने चौकीको इन्चार्ज थिए सई ठाकुर । उनले औरहीको इन्चार्ज हुँदा पनि एसपी बस्नेतलाई मासिक दररेट अनुसार बुझाउँदैआएका थिए । रमेश बस्नेतले नै उठाउने र बुझाउने खुबी भएका सई ठाकुरलाई घुमुवा राख्न सिफारिस गरेकाले उनलाई मुझेलिया वप्रकाबाट जिल्लामा प्रशासन हेर्नेगरी राखिएको छ । दरबन्दी अर्कै प्रदेशमा भएका र काजमा कार्यरत ठाकुरलाई हेर्दा प्रशासनमा राखे पनि एसपी खड्काले आर्थिक कारोबारको जिम्मा दिएका छन् । सई ठाकुरले मधेश प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठलाई समेत प्रभावित पारी काज फिर्ता रोक्न सफल हुँदैआएका छन् ।
त्यस्तै रौतहट जिल्ला प्रहरी कार्यालयका बरिष्ठ सई सुरेन्द्र साह सुडी पनि बर्षौदेखि काजमै कार्यरत छन् । बागमती प्रदेशको धादिङमा दरबन्दी भएका सुडी रौतहट जिल्ला प्रहरीका सुबेदार मेजर हुन् । रौतहट जिल्ला प्रहरी मातहतका सईसम्म दरबन्दी भएका चौकीमा सेटिङ मिलाएर खटाउने गरेका छन् । सिपाहीदेखि सईसम्म खटाउँदा उनले दररेट तोकेर लिने गरेको आरोप छ । बोर्डरका चौकीमा सिपाही हवल्दार खटाउँदा पनि उनले १० हजारदेखि १५ हजार असुल्ने गरेका छन् । असईलाई इन्चार्ज भए २५ हजार, इन्चार्जबाहेकका लागि १५ हजार लिने गरेको गुनासो छ । सईसम्मको इन्चार्ज भए ५० हजार दररेट तोकिएको छ । एसपी वीरबहादुर बुढामगरको सोझोपनको लाभ उठाउँदै उनले सिपाही हवल्दारसँग समेत घुस लिएर सरुवा गर्ने गरेको आरोप छ । काजमा कार्यरत सई सुडीको विवरण डीआईजी कुँवरले थाहा नपाएर हो कि यी र यस्ता अकूत सम्पत्ति आर्जन गर्नेहरुको पहुँचका अगाडि उनी निरीह भएका हुन् ? अर्थात् उनी पनि प्रभावित भएका हुन् ? काजफिर्ता गर्न केले रोक्यो ? यो प्रश्न मधेश प्रदेशका प्रहरीबीचमा उठ्ने गरेको छ ।
सुडी पहिला सर्लाहीमा पनि सुबेदार मेजर नै थिए । त्यहाँ पनि उनले सिपाही हवल्दारको सरुवामा समेत घुस असुली गर्ने गरेका थिए । त्यस्तै गरेर सर्लाहीको मलगंवामा साढे २ तलाको घर बनाएका छन् । गिटी, बालुवा, छड, सिमेन्ट मागेर थानाचौकीबाट मागेर घर बनाएको आरोप छ ।
त्यसैगरी, बारा प्रहरीले असई राजु गुप्तालाई घुमुवा राखेको छ । उनी हवल्दार हुँदा मधेश प्रदेशकै डीआईजीका घुमुवा बसिसकेका र बारा–पर्साको तस्करीको नेटवर्कसँग कनेक्सन भएका र घुस असुलीमा अनुभवी हुन् । बाराका एसपीका घुमुवाका रुपमा लामो समयदेखि कार्यरत उनी आइजीपीसँग सोझै सम्पर्क छ भन्ने गर्दछन् । उनलाई बाराका बरिष्ठ सई सागर राणाले परिचालन गर्दैआएका छन् । असई गुप्ताको दरबन्दी काठमाडौं हो ।
बब्लु ठाकुर, सुडी र गुप्ता उदाहरण मात्र हुन्, मधेश प्रदेशका सबैभन्दा बढी तस्करी हुने बारा, पर्सा, सर्लाही, धनुषा र रौतहटमा जुनियर अधिकृतहरु धेरै काजमा कार्यरत छन् । तिनलाई दरबन्दीमा फर्काउन डीआईजी कुँवरले सकेका छैनन् । सरुवा भएको २–४ दिन काजफिर्ता गर्ने भाषण गरे, तर अहिले उनी सेलाएका छन् । काजमा बस्नेहरुले उनलाई पनि प्रभावित पारेर हो कि भन्ने जिज्ञासा प्रकट भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend