चितवन, १० चैत । चितवनमा सञ्चालनमा रहेको साना तथा ठूला सम्पूर्ण होटेल बँद भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि त्यहाँका होटेल बन्द गर्न लागेको हो । पर्यटकीय क्षेत्रको रुपमा परिचित सो क्षेत्रमा हाल साना ठूला गरी ११५ होटल रहेका छन् ।
होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार, घरायसी रूपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको जानकारी दिए ।
कोरोनाको कारण पछिल्ला दिनमा पर्यटकको आवागमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । सो भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।
यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुङ्गा सयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । उनले सो भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए । सौराहाको थारु सांस्कृतिक सङ्ग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो ।