काठमाडौं, १० चैत । बालुवाटारस्थित ललिता निवासको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने मूख्य भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी अधिवक्ता युवराज सुवेदीका बिरुद्ध साम दाम दण्डभेदको नीति अंगिकार गरी लागेका छन् ।
हदबन्दी लागेको तर मुआब्जा दिएर सरकारले २०२१ मंसिर १७ मा अधिग्रहण गरेको ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने मुख्य नाइके ढकाल र सुवेदी अधिवक्ता कोइरालालाई भ्रमपूर्ण सूचना सम्प्रेषण गरी तनाव दिन थालेका छन् । ललिता निवासको जग्गा खोजी गरी ज्यान जोखिममा राखेर गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाएर पूर्वसचिव शारदा प्रसाद त्रिताल नेतृत्वको आयोग गठनको पृष्ठभूमि तयार गर्ने अधिवक्ता युवराज कोइरालाको बिरुद्ध ढकाल र सुवेदीदेखि भाटभटेनीका साहु मिनबहादुर गुरुङले आर्थिक प्रलोभन नै दिएर समाचार सम्पे्रषण गराउन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने ढकाल र सुवेदीसहित १ सय ७५ जना बिरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमा अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्नेतदेखि नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदारदेखि निर्वाचन आयोगका पूर्वसदस्य सुधीर शाहकी श्रीमती उर्मिला शाह, भाटभटेनीका संचालक मिनबहादुर गुरुङ, अदालतमा मुद्दा बिचौलियाको काम गर्ने कैलाशचन्द्र गोयल, बालाजु औद्योगिक क्षेत्रदेखि ब्याट्री कम्पनीको जग्गा कौडीको मूल्यमा भाडामा लिएका सुहृद घिमिरे, पूर्वसहसचिव टीकाराम घिमिरे जस्ता धेरै हाइप्रोफाइल ब्यक्तिसहित १ सय ७५ जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
सरकारले २०२१ मसिर १७ को राजपत्रमा जग्गा प्राप्ती ऐन २०१८ को दफा ७ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी ललिता निवासदेखि प्रहरी तालिम केन्द्र अगाडिको सेनाको ब्यारेक रहेको लक्ष्मी निवास महाराजगंज, प्रहरी प्रधान कार्यालय रहेको महावीर भवन, बालमन्दिर रहेको सीता भवन, महालेखापरीक्षक, आयलनिगम, सडक विभाग, जिल्ला अदालत रहेका भवनको जग्गा चलनचल्तीको मूल्य दिएर अधिग्रहण गरेको थियो ।
नेपाल गजेट भाग ३ खण्ड १४ अतिरिक्तांक २३ गृहमन्त्रालयबाट २०२१।८।१७ मा प्रकाशित सूचना अनुसार सार्वजनिक कामका लागि आवश्यक परेका कारण मन्त्रिपरिषदको २०२१।८।१५ को निर्णयअनुसार जग्गा प्राप्ती ऐन २०१८ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी ६ वटा दरबार तत्कालीन प्रचलित मूल्य अनुसार क्षतिपूर्ति दिई सरकारले प्राप्त गरेको थियो ।
२०२१।८।१७ मा सरकारले लक्ष्मी निवास महाराजगंजको २५८ रोपनी १४ आना, सीता भवन नक्सालको ११९ रोपनी १२ आना ३ पैसा, महावीर भवन नक्सालको १५४ रोपनी ४ आना २ पैसा, हरिहरभवनको २४० रोपनी १ आना २ पैसा, बबरमहल कुरियागाउँको २५३ रोपनी ३ आना ३ पैसा १ दाम, ललिता निवास बालुवाटारको २९९ रोपनी १५ आना ३ पैसा जग्गा र ती जग्गामा बनेका घरहरू अधिग्रहण गर्ने निर्णय गरेको थियो । ललिता निवासको १४ रोपनी जग्गा त्यतिबेला सुवर्णशमशेर राणा ब्यवस्थाबिरोधी गतिविधिमा लागेकाले जफत गरिएको थियो । त्यो १४ रोपनी जग्गा जफत गरिएको पिर्ता गर्नुपर्नेमा १ सय १४ रोपनी नै जफत भएको हो भन्ने तर्क गरी फिर्ता गरिएको थियो ।
यी ६ वटा दरबारको गरी १३९८ रोपनी जग्गा अधिग्रहण गर्ने क्रममा बबरमहल कुरियागाउँको २५३ रोपनी जग्गामध्ये भरतशमशेर राणाको अंशभाग १२ रोपनी १२ आना २ पैसा जग्गा मुआब्जा नदिई जफत गरिएको थियो । उनी राजनीतिमा लागेकाले उनको अंशभागको जग्गा तत्कालीन पंचायती सरकारले जफत गरेको थियो ।
अधिग्रहण गरिएका सबै जग्गाहरू (जफत गरिएका बाहेक) त्यतिबेलाको जग्गा प्राप्ती ऐन १०१८ अनुसार मुआब्जा दिएर सरकारले लिएको थियो । ती दरबारमध्ये ललिता निवास बालुवाटारको जग्गामध्येको ८ रोपनी जग्गा कनकशमशेरलाई दिंदा सरकारले रु ४५ हजार ८ सय ८२ रुपैयाँ ६९ पैसमा बिक्री गरेको देखिन्छ । कनकशमशेरले जग्गा किनेकोे प्रमाणबाट बाँकी जग्गाको पनि जग्गाधनीले मुआब्जा लिएको स्पष्ट हुन्छ । मुआब्जा लिन सरकारले तोकेको समयसीमाभित्र नगए पनि उक्त जग्गा स्वतः अधिग्रहण हुने कानुनी ब्यवस्था छँदैछ ।
यो ध्रुवसत्य हुँदाहुँदै भूमाफिया ढकाल र सुवेदी विशेष अदालतबाट मुद्दा जित्छौं भन्दै लागेका छन् । उनीहरु त्यसका लागि मिडियामा उक्त जग्गा सुवर्णमशेरकै भएको भन्दै हिरा रेग्मी नामका वकिलसँग अन्तर्वार्ता लिंदै मिडियामा प्रायोजन गर्न थालेका छन् । उक्त जग्गा सरकारका नाममा फिर्ता ल्याउन लागेका अधिवक्ता युवराज कोइरालाका बिरुद्ध मिडियामा गालीगलौज र भ्रामक कुरा समेत उनीहरु प्रचार गराउन लागेका छन् । उनीहरु उक्त जग्गा जफतै भएको हो, सुवर्णशमशेर राणाको जफत भएको जग्गा भनेर मुद्दा जित्नका लागि पहिलो प्रहार उक्त जग्गाका जानकार र कागजात र प्रमाण बोकेर बसेका अधिवक्ता कोइरालाबिरुद्ध लागेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।
अधिवक्ता कोइराला ललिता निवासको जग्गा खोजीमा लाग्दा लाग्दै नियमित कानुनी पेशासमेत गर्न सकेनन् । उनी अहिले पनि आफ्नो कानुन ब्यवसायी फर्ममा जानबाट डराउने अवस्था रहेको बताउँछन् । भूमाफियाहरुबाट आफ्नो ज्यान बचाउन मुस्किल परेको भन्दैआएका कोइरालाका नाममा बालुवाटारमा ४ रोपनी जग्गा भएको भनेर समेत शोभाकान्तले लेखाएका छन् । अधिवक्ता कोइरालाले भने– मेरो नाममा ४ रोपनी जग्गा बालुवाटारमा शोभाकान्तले देखाऊन्, म जुनसुकै संजाय भोग्न तयार छु । मेरो अभियानका कारण सरकारी जग्गा खान नपाएपछि शोभाकान्तहरु मेरा बिरुद्ध यस्ता अफवाह फैलाउन लागेका छन् ।
ललिता निवासको जग्गा गैरकानुनी रुपमा हडप्न उनीहरुले करोडौं रुपैयाँ घुसमै खर्च गरेका छन् । उनीहरुले राज्यका भ्रष्ट कर्मचारी, नेतालाई प्रभावमा पारी जग्गा दर्ता गरे तर सरकारले फिर्ता गर्ने र उनीहरुका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि मेराबिरुद्ध लागेका छन् । म उनीहरुले छरेका भ्रमपूर्ण कुराहरुबाट डराउँदिनँ । म मिचिएका सरकारी जग्गाको खोजीमा थप तदारुकताका साथ लाग्छु । ललिता निवासको जग्गा प्रकरण अदालतमा विचाराधीन छ । अरु भूमाफियाहरुले गैरकानुनी रुपमा दर्ता गरेका जग्गा पनि खोजी गर्ने काममा लागिरहन्छु ।’
ललिता निवासको जग्गा दर्ता गरेबापत घुसबापत जग्गा लिनेहरु
इन्द्रबहादुर थापा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजाका साँढुभाइ
शान्ति मल्ल प्रधानाङ्ग डिल्लीबजार मालपोत अधिकृत सुरेन्द्रमान कपालीकी भतिजाबुहारी
मिठुदेवी चापागाई डिल्लीबजार मालपोत कार्यालयका नायबसुब्बा जगतप्रसाद पुडासैनीकी दिदी
सरस्वतीकुमारी श्रेष्ठ डिल्लीबजार मालपोतका खरिदार युक्तप्रसाद श्रेष्ठ(आत्महत्या गरेका) की बहिनी
मोहनप्रसाद भट्टराई डिल्लीबजार मालपोत कार्यालयका अधिकृत धर्मप्रसाद गौतमकी सालीका छोरा
बैकुन्ठ शर्मा रेग्मी भूमिसुधार विभागका महानिर्देशक मुकुन्द आचार्यका छोरीज्वाई
विद्या पौडेल गौतम समरजंग कम्पनीका तत्कालीन लेखापाल विनोद पौडेलकी श्रीमती
सोदाकुमारी चापागाई प्रजिअ गेहनाथ भण्डारीकी सासुआमा
भुवनकुमारी चापागाई गेहनाथ भण्डारीकी श्रीमती
खिमादेवी आङबुहाङ तत्कालीन भूमिसुार ब्यवस्थापन विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङकी श्रीमती
शशीकला सुब्बा प्रेमबहादुर खापुङकी भाइबुहारी
उर्मिला शाह तत्कालीन भक्तपुर मालपोत कार्यालयका प्रमुख सुधीर शाहकी श्रीमती
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend