काठमाडौं । उपत्यकामा कोभिड १९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रबेश गर्ने उत्तरी नाकामा समेत कडा गरिएको छ । सिन्धुपाल्चोक र काभ्रे जिल्लाबाट पनि अत्यावश्यक सेवा बाहेक उपत्यका भित्रिन सम्पूर्णरुपमा प्रबेश निशेध गरिएको छ । उक्त नाका नियन्त्रण गर्न जर्सिङपौवामा चेकपइन्ट राखिएको छ । उपत्यका भित्रिने सवारी साधन नियन्त्रण गर्न खोज्दा ती गाडीमा आएका यात्रुहरू पैदल नै उपत्यका प्रवेश गर्न थाले ।
यसरी गाडी फिर्ता भए पनि यात्रुहरु उपत्यका जान थालेपछि उक्त नाकामा कडाइ गर्न उपत्यका प्रबेशस्थलमै चेक पइन्ट नराख्दा नियन्त्रण हुन नसक्ने ठहर गर्दै साँखु प्रहरी प्रभागले संखरापुर नगरपालिका वडा नंं २ स्थित देउरालीमा चौबीसै घण्टा ड्युटी रहनेगरी चेक पइन्ट खडा गरेको छ ।
उक्त चेक पइन्ट खडा गरेपछि उपत्यका प्रबेश गर्ने उत्तरी नाका पूर्णतः बन्द भएको संखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले बताए । उनले शुक्रबार पनि उक्त नाकाको सुरक्षा ब्यवस्थाको अनुगमन गरेका थिए । साँखु प्रभागका निरीक्षक गोविन्द पन्थीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंबाट कोभिड रोकथाम तथा नियन्त्रणका लागि थप जनशक्ति उपलब्ध भएकाले प्रहरी सहायक निरीक्षकको कमाण्डमा चौबीसै घण्टा तैनाथ रहनेगरी प्रहरी परिचालन गरिएको उनले बताए । पछिल्ला दिनमा उपत्यका प्रबेश गर्ने नागढुङ्गा, फर्पिङ र साँगामा समेत कडाइ गरिएको छ ।