काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।
बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिएको थियो । त्यसमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अहिले अस्पतालको इमर्जेन्सी विभाग सिल गरिएको छ ।
नयाँ संक्रमित स्वास्थ्यकर्मी इमर्जेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।
इमर्जेन्सी विभागका अन्य कर्मचारीको पनि कोरोना परीक्षण भैरहेको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ । रिपोर्ट आएपछि मात्र इमर्जेन्सी विभाग खुल्ने/नखुल्ने विषयमा निर्णय हुने बताइएको छ।