काठमाडौं । केही समयअघि काठमाडौंमा भएको सुन तस्करीकाण्डमा जोडिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्धारा क्षेत्रबाट बरामद भएको १४ किलो ५ सय ग्राम सुनको जलप लगाएको चाँदी र ५ सय ग्राम सुन तस्करी काण्डमा कनेक्सन देखिएका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले उनलाई बाराबाट पक्राउ गरेको हो। सुनचाँदी तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्सारी यस अघि नक्कली भारतीय नोटको कारोबारमा पनि पक्राउ परेका थिए। उनी कैद भुक्तान गरेपछि छुटेका थिए।
सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन प्रकरणमा उनको कनेक्सन देखिएको थियो। उक्त घटनामा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो। साउन १३ गते प्रहरीले कमलादीबाट सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन बरामद गरेको थियो। उक्त समय धातु भएको झोला फालेर स्कर्पियो भागेको बताइएको थियो। प्रहरीले गाडी यस अघिनै नियन्त्रणमा लिइसकेको छ। उनी बारा, प्रस्टोकाका हुन्।
काठमाडौंको सुन्धारामा साउन १३ गते प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि उनीहरु फारर भएका थिए। सुनचाँदी छोडेर भागेका उनीहरुमध्ये निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई साउन १४ गते पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार कौशल काठमाडौंमा र अन्य तीन जना पूर्वी नवलपरासीबाट पक्राउ परेका थिए। उनीहरुको बयानका आधारमा खोजी गर्दै जाँदा अन्सारीलाई बाराबाट पक्राउ गरिएको हो।
त्यस्तै, सुन लुकाउन सघाएको आरोपमा दुई जना प्रहरी पनि कारबाहीमा परेका छन्। प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ र बहादुरसिंह कठायत तथा बागबजारका व्यवसायी उमेश श्रेष्ठ पक्राउ परेका थिए।