काठमाडौं। कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई जेलमुक्त गर्न भक्तपुर जिल्ला अदालतले कारागारलाई पत्र पठाएको छ ।
‘बिकिनी किलर’ भनेर चिनिएका शोभराजलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागारलाई पत्र पठाएको हो । केन्द्रीय कारागार सुन्धारामा शोभराजलाई थुनामुक्त गर्न पत्राचार गरिएको भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए ।
१९ वर्षदेखि नेपालको कारागारमा सजाय भोगिरहेका शोभराजलाई हिजो बुधबार सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् । शोभराज फ्रान्सेली नागरिक हुन् ।
नेपाल घुम्न आएका क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको मुद्दा भक्तपुर जिल्ला अदालतमा चलेको थियो ।
शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा अमेरिकन नागरिक कोन्नी जो ब्रेन्जीचको हत्या गरेको मुद्दा र जाली नोटबारे मुद्दा चलेको थियो । ‘पुरानो कैदी पुर्जीमा जिल्ला अदालत काठमाडौंबाट जाली नोट र हत्या मुद्दा चलेको देखिएको छ’ भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामी मगर भन्छन्, ‘त्यसबारे सर्वोच्चको आदेशमा केही भनिएको छैन, हामीले काठमाडौंलाई पनि जानकारी गराएका छौँ ।’