वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा एक विवाह समारोहमा झडप हुँदा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका-३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।
बुधबार बिहान ४ बजे गम्भीर घाइते अवस्थामा घर पुगेका सैमुल्लाहलाई प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले उनलाई अस्पताल लगेको थियो । तर, उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो ।
मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद हुँदा सैमुल्लाहले नाच्न नदिएको भन्दै दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।