विराटनगर। सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट तस्करीको ६ हजार किलोग्राम गहुँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले भारतदेखि तस्करी गरेर नेपालतर्फ ल्याइएको गहुँ मंगलबार साँझ बरामद गरेको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार बोरामा प्याक गर्दै इन्जिनको भाग नभएको ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको हो।
उनका अनुसार भन्सार छली गरेर नेपालतर्फ ल्याएको गहुँ १ लाख ८० हजार मूल्य बराबरको छ।
ट्याक्टरको ट्रलीसहित गहुँलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी लामिछानेले बताए।