Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा विद्यालय गएका २ बालिका बलात्कृत


    सोमबार, पुष ४ २०७९
    435
    Shares
  • २ मिनेट पाठ
  • विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई जना १४ वर्षीया बालिका बलात्कृत भएका छन् । यही पुस १ गते शुक्रबार विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो । 

    जिल्लाको सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुस १ गते शुक्रबार दुवैजना विद्यालय जान भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए । 

    भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर उनी दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुले सुन्दरहरैंचा–७  बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    ती बालिकाहरु राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए । भोलिपल्ट अर्थात शनिबार मात्रै उनीहरु घर फर्किए । अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताए । 

    पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

    प्रहरीका अनुसार बालिका स्थानीय विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार