काठमाडौँ । काठमाडौँको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना समातिएका छन् । गत मंसिर १८ गते घरको ढोका फोडेर चोरी गरी भागेका उनलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोरखाका डिलबहादुर घलेलाई गाउँबाटै नियन्त्रणमा लिएको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी यसअघि २०७२ जेठमा समेत काठमाडौँ महानगरपालिका-२६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रूपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले बताएको छ ।