काठमाण्डौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास आज शुक्रबार रुपन्देहीमा सुरु भएको छ ।
अभ्यास ‘सुर्यकिरण’ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यास शुक्रबार रुपन्देहीको सालझण्डीमा सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली र भारतीय सैनिकबीच संयुक्त रुपमा हुने सैनिक अभ्यास ‘सुर्यकिरण’ को यो १६ औं संस्करण हो । आज शुक्रबारबाट सुरु भएको संयुक्त सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ ।
यस्तै, सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना फौज सहभागि रहेका र भारतीय सेनाको तर्फबा कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जनाको फौज सहभागि रहेको नेपाली सेनाले जनाएको छ ।
सैन्य अभ्यासको सालझुण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।
अभ्यास ‘सुर्यकिरण’ युद्धकला, प्रतिआतंकवाद, मानविय सहायता, प्राकृतिक प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रीत हुनेछ ।
नेपाली सेनाले भारत लगायत, चिनियाँ र अमेरिकी सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ । गत वर्षको अभ्यासको १५ औं सस्करण भारतको पिथौरागढमा भएको थियो । भने १४ औं संस्करणको सैन्य अभ्यास कोरोनाका कारण हुन सकेको थिएन् ।