Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप फुटबल हेर्न पूर्वआइजीपी सर्वेन्द्रदेखि महेश बस्नेतसम्म कतार पुगे


    शुक्रबार, पुष १ २०७९
    1.9K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं ।  कतारमा जारी विश्वकप फुटबल हेर्नका लागि एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत ३ दिनअघि दोहा पुगे । उनले कतारको लुसेल रंगशालाबाट अर्जेन्टिनाको जर्सी लगाएको तस्वीर पोष्ट गरे । उनले दैनिकजसो कतारमा भइरहेको फुटबल खेलको बारेमा सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । संभवतः उनी कतारको लुसेल रंगशालामा आइतबार हुने फाइनल खेल समेत हेरेर फर्किने भएका छन् । 

    भक्तपुर २ बाट प्रतिनिधिसभामा कांग्रेसका दुर्लभ थापासँग पराजीत भएपछि महेश बस्नेत फुर्सदिला भएका छन् । उनले त्यही फुर्सदको समय फुटबल हेर्नका लागि खर्च गरेका छन् । उनले कतारमा फुटबल हेर्न गएकोमा वाइसीएल इन्चार्ज तथा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जस्तो आफ्नै पार्टीभित्रबाट पूँजीपतिको संज्ञा भने पाएका छैनन् । एमाले पंक्तिले बस्नेत फुटबल हेर्न गएकोमा बिरोध भने गरेको छैन । उनलाई एमालेजनले पूँजीपति भनेका छैनन् ।    

    111.jpg

    ‘दिपशिखा’ कतारमा जारी विश्वकप हेर्न जाँदा भने आफ्नै पार्टीपंक्तिबाट गाली खाए, मानौं माओवादीमा लागेपछि फुटबल हेर्नु अपराध नै हो जस्तो गरी । उनी विश्वकप हेर्न गएकोमा माओवादीभित्रैकाले सबैभन्दा बढी बिरोध गरे । दिपशिखाले साथीहरुले दिएको टिकटमा कतारमा फुटबल हेर्न जाँदा आफ्नैले अपराधीझैं बनाएको भन्दै सामाजिक संजालमा तितो पोखे । २६ बर्षसम्म पार्टीमा दुःख गरेको बिर्सिएकोमा पनि उनको दुखेसो छ । 

    कतारमा जाँदा भएको बिरोधप्रति उनले लेखेका थिए– अपराधीझैं बनाए आफ्नैले ! एकदिन गयल नभइकन २६ वर्ष पार्टीमा गरेको योगदानको एकरत्ति पनि ख्याल नराखी साथीले दिएको टिकटमा फुटबल हेर्दा फटाहा, लुटाहा पूँजीवादी सबै भइयो । न कसैलाई धम्क्याएको छ, न घुक्र्याएको छ, खास मैले धम्क्याएको कसलाई हो ? मेराबारेमा सार्वजनिक टिप्पणी गरेपछि प्रस्टीकरण दिनु र चरित्रहत्याको कानुनी उपचार खोज्छु भन्दा धम्की हुन्छ भन्ने मलाई ज्ञान भएन । दुनियासँग कुनै गुनासो छैन, मेरा प्रिय माओवादी कमरेडहरू ! यस्तो यदुबंशीय शैलीले क्रान्ति बन्ने भए म अज्ञानी हुँ ! माफ पाम !

    r.jpg

    बस्नेत र दिपशिखामात्र होइन, काठमाडौंको क्षेत्र नम्बर ६ बाटै एमालेले उम्मेदवार बनाएका नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि बिहीबार विश्वकप फुटबल हेर्न कतार पुगेका छन् । उनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले स्वागत गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

    मुसलमानले फेसबुकमै खनाललाई दोहा विमानस्थलमा स्वागत गरेको तस्वीर पोष्ट गरेका छन् । पूर्वआइजीपी खनाललाई स्वागत गर्ने मुुसलमानमाथि एनआरएन कतारको कोषको रकम दुरुपयोग गरेको आरोप छ । 
    कोरोनाबाट प्रभावित श्रमिकहरुलाई सहयोग तथा उद्धारका लागि आईसीसीमार्फत् आइएलओबाट प्राप्त दुई लाख रियालमा समेत मुसलमानले घोटाला गरेको भन्दै छानबिनको माग भएको थियो । त्यसमध्ये ३८ हजार रियालको सामाग्री खरिद गरेको भनिए पनि बाँकी १ लाख ४१ हजार रकम घोटाला गरेको आरोप मुसलमानथि लाग्दैआएको छ । उक्त रकम आईसीसीलाई फिर्ता गर्ने भनिएपनि नगरिएको पाइएपछि उनीमाथि छानबिनको माथ गरिएको थियो ।

    कतार च्यारिटी र कतार रेडक्रसले कोरानाबाट प्रभावित श्रमिकहरुलाई वितरणको लागि कतारको हरेक कम्युनिटिलाई निःशुल्क उपलब्ध गराएका खाद्यान्न सामाग्रीहरुमा समेत मुक्तदा र कोषाध्यक्ष बिनोद बसौलाले मिलेमतोमा अल्मिरा सुपरमार्केटबाट नक्कली बील बनाई आईसीसीलाई उपलव्ध गराएको आरोप छ । एनआरएनए कतार करिव तीन लाख ५० हजार नेपालीको साझा संस्था हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार