काठमाडौँ । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको हो ।
दार्चुला जादै गरेको ना ६ ख ६५२१ नम्बरको बसले साइकलमा सवार उनलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलमा चढेर वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा जाने क्रममा बसले ठक्कर दिएको हो ।
मृतक वैद्य स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि गाडि आवतजावत ठप्प रहेको प्रहरीको भनाइ छ ।