काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले मोरक्कोलाई २-० गोलले हराउँदै फाइनलमा पुगेको हो।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे। खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफको अन्तिममा अर्को गोल गरेको हो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि भिडन्तमा आगामी आइतबार अर्जेन्टिनासँग खेल्ने पक्का भएको छ ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए ।
मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको् भेट निश्चित भयो ।
सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो ।
साढे चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।
विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन् । पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो । गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।
फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो । अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराति गरेको थियो ।
सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय ब्यहोेरेको थियो ।
यस्तै, जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदार समेत छन् । अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन् ।