काठमाडौँ। साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे। खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफको अन्तिममा अर्को गोल गरेको हो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि भिडन्तमा आगामी आइतबार अर्जेन्टिनासँग खेल्ने पक्का भएको छ ।
फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलले हराएको थियो ।