Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगद्वारा अन्तिम परिणाम घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने


    बुधबार, मंसिर २८ २०७९
    845
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते आइतबारका दिन सम्पन्न चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

    आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको परिणाम घोषणा गरेको जानकारी दिए । दलहरूले चयन गरी पठाएका नाम क्लस्टर मिले वा नमिलेको छानबिन गरी आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।

    थपलियाले आज पत्रकार सम्मेलनमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम प्रतिवेदन भोलि मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई बुझाइने समेत बताए। । यस्तै आयोगले आगामी पुष २ गते प्रदेशसभा निर्वाचनको नतिजा सम्वन्धित प्रदेश प्रमुखलाई बुझाउने कार्यतालिका तय गरेको उनले जनाए ।

    आयोगले अन्तिम प्रतिवेदन बुझाएपछि निर्वाचित सदस्यको नामावली राजपत्रमा प्रकाशन हुनेछ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कुल ८२५ जना निर्वाचित भएको जनाएको छ । जसमध्ये प्रतिनिधिसभामा १८४ पुरुष र ८१ जना महिला छन् । यो प्रतिशतका हिसाबले पुरुष ६७ प्रतिशत र महिला ३१ प्रतिशत भन्दा केही बढि रहेको आयोगले जनाएको छ ।

    राज्यका हरेक निकायमा महिलाको संख्या ३३ प्रतिशत हुनु पर्ने प्रावधान भए पनि प्रतिनिधिसभामा भने उक्त संख्या पुगेन । राष्ट्रियसभा समेत गरी यसलाई ३३ प्रतिशत पुर्‍याइएको छ ।

    यस्तै प्रदेशसभातर्फ ३५० जना पुरुष र महिला २०० जना निर्वाचित भएका छन् । प्रदेशसभामा पुरुषको संख्या ६३ दशमलव ६४ प्रतिशत छ । प्रदेशसभामा महिलाको संख्या भने ३६ प्रतिशत भन्दा बढि पुगेको छ ।

    यस्तै, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेका थिए। 

    प्रतिनिधिसभामा ७ वटा पार्टीले भने राष्ट्रिय दलको मान्यता पाएका छन् । यस्तै प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, बागमतीमा ७, गण्डकीमा ७, लुम्बिनीमा १०, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा पनि ६ वटै दलको समानुपातिकतर्फ प्रतिनिधित्व भएको प्रमुख आयुक्त थपलियाले बताए। 

    निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार