धनगढी। कैलालीमा भारतीय नागरिकको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीय नागरिकको कुटाइ बाट स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो । आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए।
उनले घरअघि गाडी रोक्न नदिएपछि आइतबार राति दुई जना भारतीय नागरिकबाट उनी कुटिएका थिए। ती भारतीय अहिले निर्घात कुटपिट गरी फरार छन्। कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो।
कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।