काठमाडौं । चिनियाँ सैनिकले सीमा पार गरेर भारत प्रवेश गर्न खोज्दा भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा यी दुई देशका सैनिकबीच झडप भएको छ । गएको शुक्रबार चिनियाँ सैनिकले सीमा पार गरेर भारत प्रवेश गर्न खोज्दा भारतीय सेनाले रोक्न खोजेका थिए । त्यसपछि त्यहाँ दुवै पक्षबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।
पहिले दुई पक्षबीच झडप र त्यसपछि ढुंगा हानाहान भएको स्रोतलाई उल्लेख गर्दै अंग्रेजी पत्रिका द टेलिग्राफले जनाएको छ । उक्त झडपमा चिनियाँ सैनिकले किला ठोकिएको लाठीको समेत प्रयोग गरेका थिए ।
त्यसक्रमा दुवै पक्षका केही सैनिक घाइते भएका भारतीय सेनाले जनाएको छ । त्यस झडपमा हालसम्म १२ देखि १५ भारतीय सैनिक घाइते भएका बताइएको छ ।
द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार रक्षा मन्त्रालयसँग सम्बन्धित एक स्रोतले सो झडपमा भारतीयभन्दा चिनियाँ सैनिक बढी घाइते भएका दाबी गरेका छन् ।