काठमाडौँ। इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर दक्षिण कोरियाको संसद्ले गृहमन्त्रीलाई तुरुन्तै बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ । अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन निकै दबाब बढेको छ ।
विपक्षीको बाहुल्यता रहेको संसदले हिजो आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक–योलले गृहमन्त्रीको राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरेमा डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।