एजेन्सी। क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै ब्राजिलका चर्चित फुटबलर नेयमारले आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । कतारमा जारि फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि नेयमारले यो हार लामो समयसम्म याद रहनेछ भन्दै यस्तो बताएका हुन्।
शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल अन्तरले पराजित गरेको थियो ।
‘म मनोवैज्ञानिक रूपमा क्षतविक्षत भएको छु’, नेमारले इन्स्टाग्राम पोस्टमा भने, ‘यो पक्कै पनि पराजय हो जसले मलाई सबैभन्दा बढी चोट पुर्यायो । जसले मलाई प्रतियोगितापछि १० मिनेटसम्म पक्षाघात गरायो । त्यसपछि रोक्नै नसक्ने गरी आँखाबाट आँशु चुहियो । ’
उनले अगाडि लेखेका छन्,‘दुर्भाग्यवश यसले धेरै लामो समयसम्म चोट दिनेछ । ’ उनको पोस्टलाई १ करोड ८८ लाखले लाइक गरेका छन् ।