काठमाडौं, ९ चैत । सरकारले कडाइ गरे पनि अझै ग्याँसमा कालोबजारी नियन्त्रण हुन सकिरहेको छैन । ग्याँसमा कालोबजारी गरेको भेटिएमा ५ बर्ष कैदसंजाय हुने चेतावनी सरकारले दिंदा पनि सर्वसाधारणले ग्याँस पाउन सकिरहेका छैनन् । खाना पकाउने ग्याँस अभाव हुनेहरुलाई सरकारले नै विभिन्न ठाउँबाट बितरण गर्न लागेको छ । ग्याँस नपाउनेहरुले अब निम्न ठाउँहरुबाट लिनसक्ने ब्यवस्था सरकारले गरेको छ ।
कोरोनाको सन्त्रास बढेसँगै ग्याँस विक्रीका कालोबजारी बढेपछि उपभोक्तालाई सहज रुपमा ग्याँस उपलब्ध गराउन उद्योगीले काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा आइतबार(आज) देखि बिक्री केन्द्र राख्न लागेका छन् ।
आयल निगमको निर्देशअनुसार ग्याँस उद्योग संघले आजदेखि काठमाडौंका विभिन्न २२ स्थानमा ग्याँसको रिटेल काउन्टर सञ्चालन गर्न लागेका हुन् ।
निगम र ग्याँस उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्याँस बिक्री गर्न निगमले निर्देशन दिएको हो । समस्यामा परेका ग्राहकले रिटेलबाट पनि ग्याँस खरिद गर्न सक्ने निगमले जनाएको छ ।
ग्याँस संघले पनि विज्ञप्तिमार्फत् आइतबारदेखि २२ ग्याँस ब्रान्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने जानकारी दिएको छ ।
काठमाडौंको बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटीबाट बिक्री गरिने संघले विज्ञप्ति जारी गरेर जनाएको छ ।
ओम ग्याँसले थली र नैकाप, बाबा, श्री र लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्याँसले सितापाइला, सूर्य ग्याँसले जगाती, गीता ग्याँसले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्याँसले कागेश्वर मनहरा, भानु ग्याँसले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्याँसले ललितपुरबाट बिक्री गर्ने संघले जनाएको छ ।
