काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य घटेको छ । लगातार बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य आज (मंगलबार) भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज भने प्रतितोला ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
यता मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।