काठमाडौँ। नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको हो । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको स्रोतले जनाएको छ।
मंसिर २० गते जारी हुने ट्रेजरीको आज सोमबार दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय सीमा भित्र ट्रेजरीका लागि अनलाइन दरखास्त दिन सक्ने छन् ।
सार्वजनिक बोलकबोल मार्फत हुने ट्रेजरी बाँडफाँडमा ८५ प्रतिशतलाई प्रतिस्पर्धात्मक र १५ प्रतिशतलाई विना प्रतिस्पर्धा सहभागी गराइने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रूपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रूपैयाँ छुट्याइएको छ ।
यस्तै ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।