Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी, बानियाँको सर्वसम्मत हुने चाहना पूरा हुन गाह्रो


    आइतबार, मंसिर १८ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • काठमाडौँ, १७ मंसिर । अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ७ सिट मात्र जितेको नेपाली कांग्रेस यसपटक बागमती प्रदेशमा सबैभन्दा ठूलो दल बनिरहँदा मुख्यमन्त्री को हुने भन्ने विषय यतिखेर कांग्रेसमा बहसको विषय बनेको छ ।

    दुई पटक कांग्रेस केन्द्रीय सदस्य रहेका, संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य रहिसकेका नेता प्रदेशमा झरे पनि निर्वाचनताका चर्चा नगरिए पनि नेपाली कांग्रेसका नुवाकोटबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा कांग्रेसका मुख्यमन्त्रीमा सर्वाधिक चर्चामा रहेका छन् । उनलाई प्रदेशसभा सदस्यमा चुनाव लड्न नमान्दा कांग्रेस नेताहरुले मुख्यमन्त्रीकै दाबी गर्न सकिने आश्वासन दिएका थिए ।

    बागमती प्रदेश सभापति तथा मकवानपुर २ ख बाट निर्वाचित ईन्द्रबहादुर बानियाँलाई भावी मुख्यमन्त्रीका रुपमा कांग्रेसले चर्चा गरिरहँदा एकाएक मुख्यमन्त्रीमा बहादुरसिंह लामा पनि दाबेदारका रुपमा देखिएका छन् । कांग्रेस संस्थापन र शेखर कोइराला पक्षबीच भागबण्डा हुँदा मुख्यमन्त्रीको दौडमा लामाले बाजी मार्ने सम्भावना प्रबल छ । बानियाँलाई देउवा पक्षले अगाडि सारे लामालाई शेखर कोइरालाहरुले साथ दिने संभावनालाई नकार्र्न नसकिने  देखिन्छ ।

    नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लामा १७ हजार दुई सय ४९ मत ल्याएर विजयी भएका हुन् । २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

    समाजवादीको टिकट लामाको भागमा

    नुवाकोट २ क मा नेकपा (एकीकृत समाजवादी) को भागमा टिकट परेको थियो । समाजवादीले त्यस क्षेत्रबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर जब २ ख मा बहादुर सिंह लामाको आगमन भयो । २ क मा माओवादीका रामप्रसाद ढुंगाना र ख मा कांग्रेसका बहादुरसिंह लामा उठे । ह समाजवादीको भागमा परेको टिकट खोसियो । माओवादीले पहिला भनेका उम्मेदवार राममाया बोगटी पनि पछि हट्नु प¥यो । यसरी प्रदेश सभामा बहादुरसिंह लामा एकखालको ‘जेन्टलमेन एग्रिमेन्ट’ सहित प्रवेश गरेताका नै भावी मुख्यमन्त्रीको उम्मेदवारको चर्चा नभएको होइन । तर निर्वाचनभर उनी चुपचाप चुनाव जित्ने अभियानमा लागे ।

    मतपरिणामपछि लामा मुख्यमन्त्रीको दौडधूपमा लागेका छन् । चुनाव जितेलगत्तै मुख्यमन्त्रीको दाबेदार भनेर इन्द्रबहादुर बानियाँले आफ्नो चर्चा चलाउँदा लामा मौन थिए । तर शनिबार बिहानदेखि भने मुख्यमन्त्रीमा लामाको सम्भावना बढेको कांग्रेस स्रोत बताउँछ ।

    नुवाकोटमा अर्जुननरसिंह केसी संघमा निर्वाचित भएका छन् । शेरबहादुर देउवाका प्रियपात्र डा. प्रकाशशरण महत समानुपातिक सूचीमा रहँदा लामाले शेरबहादुर देउवाको आग्रहमै आफू प्रदेश सभा उम्मेदवार भएका बताएका थिए । अहिले पार्टी सभापति देउवा, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि बानियाँमात्र सर्बविकल्प होइनन्, बहादुरसिंह लामा पनि मुख्यमन्त्रीमा दाबेदार हुनसक्छन् भन्ने अवस्थामा पुगेका छन् ।

    किन कमजोर बने इन्द्र बानियाँ 

    अघिल्लोपटक प्रत्यक्ष ७ र बाँकी समानुपातिक गरी २३ सदस्य रहेको नेपाली कांग्रेसलाई यसपटक प्रदेशमै ठूलो बनाएको श्रेय बोकेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग पछिल्लो समय बालुवाटार र बुढानीलकण्ठ दुवै शक्तिकेन्द्र रिसाएको स्रोत बताउँछ । खासगरी राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि बानियाँको तजबिजमा बनेका प्रदेश मन्त्रीहरुबारे बानियाँले केन्द्रसँग छलफल पनि गरेनन् । आफ्ना ‘एसम्यान’हरुलाई मन्त्री बनाएर उनले ठेक्कापट्टादेखि स्वकीय राख्ने मामलामा पनि मन्त्रीहरुलाई हस्तक्षेप गरेर केही आफ्ना कार्यकर्ता सेट गरेपछि मन्त्रीहरुले खुलेर विरोध नगरे पनि केन्द्रलाई जानकारी गराएका थिए ।

    यतिमात्र होइन, भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालयका कामकाजमा बानियाँको ठाडो हस्तक्षेप थियो । स्वास्थ्य मन्त्रालयले किन्न लागेको सिटीस्क्यान मेसिनमा बानियाँकै नाममा मन्त्री निमा लामा र सचिव बद्री खड्काले कम्पनीहरुलाई कमिसन मागेको सूचना शेरबहादुर देउवासम्म पुगेको थियो । आफ्नालाई स्पेस लकसमेत ओपन गरेर सेटिङमा काम गरी हाकाहाकी सचिवलेसमेत ‘बानियाँ दाइको भाग’ भनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले बैठक नै बसेर टेण्डर रद्द गर्नुपरेको थियो ।

    यो प्रकरणपछि इन्द्र बानियाँले अर्को काम गरे, मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर अभियान । २०४८ सालदेखि सँगै संसदमा रहेका राजेन्द्र पाण्डे र शेरबहादुर देउवाबीच सम्बन्ध सुमधुर नै छ । अर्कातिर प्रत्यक्षतर्फ ३३ सिट जितेका देउवालाई सत्तामा पु¥याउने माधवकुमार नेपालको पार्टीका पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । उनै पाण्डेसँग भएको सहमति कार्यान्वयन गर भनेर हठात् माओवादीका युवराज दुलालसँग मिलेर बानियाँले पाण्डेविरुद्ध हस्ताक्षर अभियान चलाए । जतिखेर हेटौँडामा हस्ताक्षर अभियान चलिरहेको थियो, त्यतिखेर पाण्डे शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालसँगै बालुवाटारमा थिए, निजगढ विमानस्थल निरीक्षणमा थिए । कहीँकतै पाण्डेलाई माथिका तीन नेताले के भएको भनेर सोधपुछसमेत गरेनन् ।

    यो प्रकरणमा कमजोर देखिएपछि दुलाल अहिलेसम्म मौन छन् भने बानियाँ पनि सेटब्याक भए । तर बालुवाटारमा कांग्रेसकै नेताहरुले कुरा पु¥याइहाले, ‘आफ्नै गठबन्धनभित्र तपाईंलाई नसोधी बानियाँले हस्ताक्षर अभियान चलाएर कांग्रेसको बदनाम गरे, तपाईं किन बानियाँलाई ‘स्पेस’ दिएर हाम्रो हुर्मत लिइरहनुभएको छ । ’ भौतिक पूर्वाधार मन्त्रालयमा पनि बानियाँले उस्तै हालिमुहाली गरे । मन्त्रीलाई काम गर्न दिएनन् । आफ्नाहरुलाई रकम बाँडे । यो निर्वाचनमा पनि बानियाँले आफूनिकट पत्रकारहरुलाई स्वास्थ्य मन्त्रालयको ६ लाख रुपैयाँ कागज मिलाएर गुपचुप बाँड्न लगाएको आरोप छ ।

    यी सबै विषयहरु बालुवाटारमा रिपोर्टिङ भइरहेको विषय थियो ।
    बानियाँले स्थानीय तह निर्वाचनमा पनि एक महिलालाई जसरी पनि टिकट दिनुपर्छ भनेर कार्यसमिति बैठकमा गलफत्ती गरेपछि महामन्त्री राजु श्रेष्ठले माइन्युट नै फालेर हिँडेका थिए । बैठकमा उपस्थित कांग्रेस केन्द्रीय सदस्यहरुलाई पनि बानियाँले अपमान गर्दै मलाई निर्णय गर्न दिनुहोस्, बाहिर गइदिनुहोस् भनेको कुरा बालुवारमा पुगेकै थियो ।

    यही निर्वाचनमा मकवानपुरको दुवै क्षेत्रमा गठबन्धन हारेको छ । पार्टी को आठौँ वरियताका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रशस्त मत हुँदाहुँदै पनि राप्रपासँग हार खानुपरेको छ भने २४ हजार भन्दा बढी मत भएको मकवानपुर २ मा पनि २०४८ देखि संसदमा शेरबहादुर देउवासँगै रहेका र देउवाकै मन्त्रिमण्डलमा रहेका विरोध खतिवडा हारेपछि कांग्रेसको १ नम्बरको अन्तर्घातले २ नम्बरमा पनि विरोध खतिवडामाथि अपराध भयो भनेर डिनाले आफू निकटहरुको छलफलमा सुन्नुप¥यो । कांग्रेस मकवानपुरको आन्तरिक कुण्ठा फेसबुकदेखि सामाजिक सञ्जालमा छताछुल्ल भइरहेको छ । यी सबै प्रकरणमा बानियाँ खुलेर लागेको रिपोर्ट बालुवाटार पुगेपछि पछिल्लो समय बानियाँ देउवा क्याम्पमै अलोकप्रिय र धोकाधडीमा खेल्ने पात्र भनेर शंकाको रुपमा हेरिन थालेको कांग्रेस स्रोतको भनाइ छ ।

    को हुन् बहादुर सिंह लामा 

    २०४३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय बहादुर सिंह लामा निर्माण व्यवसायी पनि हुन् । लामा २०५४ म गाविस अध्यक्ष बनेका थिए । लामा बेलाबखत राजनीतिक अवस्थाबारे लेख पनि लेख्छन् ।

    बस्नेतको पनि समर्थन लामालाई

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रियपात्र डा. प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय मुख्यमन्त्रीमा बहादुर सिंह लामालाई अघि सार्न सहमत त थिए नै, थपिए नेपाली कांग्रेसका पुराना नेता, पूर्वमन्त्री एवम्म् सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेत । म सिन्धुपाल्चोकमा एक्लै लड्न सक्छु, माओवादी चाहिन्न भनेर अड्डी कसेका बस्नेत नुवकोटमा बहादुरसिंह लामालाई प्रदेशमा उम्मेदवार बनाइएपछि गठबन्धनमा सक्रिय भए, माओवादीलाई पनि जिताए र आफू पनि जित्दै सिन्धुपाल्चोकमा एमालेलाई निल गरिदिए । अहिले बस्नेत खुलेर लामाका पक्षमा लबिङमा छन् । बस्नेतको समर्थन लामालाई नै छ ।

    महतले मकवानपुर आएर भावी मुख्यमन्त्री भनेर बानियाँका पक्षमा भाषण गरे पनि पार्टीमा शेखर कोइराला समूहलाई मिलाउनु पर्नेलगायतका बानियाँका आन्तरिक कमजोरीसँगै चिसिएको सम्बन्धका कारण बहादुरसिंह लामाका पक्षमा लबिङमा उत्रिएको बालुवाटार स्रोतले बताएको छ । बानियाँले संघीय सरकारमा गृहराज्यमन्त्रीसम्म हुने अवसर पाइसकेकाले पनि यो पटक लामालाई अवसर दिनुपर्ने पक्षमा कांग्रेसजन छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार