काठमाडौँ। नेपाल वायुसेवा निगमको जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन् ।
इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट) को बिल्ड प्रेसरसम्बन्धी समस्या उत्पन्न भएपछि निगमले साढे ११ बजे मुम्बई पठाउनुपर्ने जहाजलाई निर्धारित समयमा उडाउन सकेन ।
मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो निगमको यात्रु सेवा विभागका एक उच्च अधिकारीले बताए । निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको ती अधिकारीले बताए ।
‘हामीसँग दुईवटा एयर स्टार्ट युनिट थिए । एउटा बिग्रेर थन्किएको छ । अर्को पनि जीर्णै थियो । आज चलाउन खोजेको तर कामै गरेन,’ उक्त उडानमा रहेका एक अधिकृतले भने, ‘ग्राउन्ड ह्यान्डलिङ विभागको लापरबाही देखियो । अहिले कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या देखिएको भए के हुन्थ्यो ?’