काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल चुनावअघि चर्चामै नआएका नेपाल स्वतन्त्र पार्टीका शिशिर खनालसँग ५ हजार २९३ मतान्तरले पराजित भएका छन् । सर्वेन्द्र खनाल चुनावको मुखमा एमालेमा प्रवेश गरेका हुन् । एमालेले काठमाडौं ६ मा कोही उम्मेदवार नपाएपछि उनलाई उठाएको थियो । खनालले नेपाल प्रहरीको बर्दीको दुरुपयोग गर्दै पदमा हुँदाका पुराना भिडियोहरु सामाजिक संजालमा सेयर समेत गरेका थिए ।
२०७६ मा तत्कालीन केपी ओली सरकार टिकाउन जसपा विभाजन गर्नका लागि महेश बस्नेतसँगै सांसद डा.सुरेन्द्र यादवको अपहरण गर्न महोत्तरी गएका उनी यसबीचमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पनि पटक पटक वार्ता गर्न गए । तर राप्रपाले उनलाई पार्टीमा उनले मागेको पद नदिने जवाफ लिङ्देनले दिएपछि उनी एमालेमा प्रवेश गरी काठमाडौं ६ मा उम्मेदवार भएका थिए । तर नामै नसुनिएका नेस्वपाका सगोत्री शिशिर खनालसँग सर्मनाक ढंगले पराजीत भए । खनाल अवकाशपछि ज्ञानेन्द्र शाहीको अभियानमा समेत लागेका थिए । कतै पनि ठाउँ नपाएपछि उनी अवकाशपछि अधिकांश समय अमेरिकातिरै बिताउन थालेका थिए । चुनावको मुखमा एमालेले काठमाडौं ६ नम्बरमा उम्मेदवारी दिने भएपछि उनी अमेरिकाबाट फर्किएका थिए ।
सर्वेन्द्र खनालमात्र होइन, ३० बर्षसम्म जागिर खाई अवकाशपछि पनि गार्ड र सवारी चालक सुविधासमेत लिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वएआजी र डीआइजीहरु पनि पराजीत भएका छन् । एमालेबाट ललितपुर १ मा उम्मेदवारी दिएका पूर्वडीआइजी नवराज सिलवाल नेपाली कांग्रेसका उदयशमशेर राणासँग पराजीत भएका छन् । राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरी बिजयी हुँदा सिलवाल १९ हजार दुई सय ६६ मत प्राप्त गरी ४ हजार ६२६ मतान्तरमा पराजीत भएका छन् ।
सिलवाल २०७४ मा राणालाई नै पराजीत गरी बिजयी भएका थिए । २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपीमा बढुवा नगरेपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई ललितपुर १ बाट सांसदको टिकट दियो र बाम गठबन्धनका कारण उनी जित्न सफल भएका थिए । यो पटक उनी पराजीत भए ।
त्यसैगरी, सर्वेन्द्र खनालका ब्याची पूर्वडीआइजी रमेश खरेल पनि प्रहरीबाट राजीनामा दिएपछि राजनीतिमा हाम्फालेका थिए । उनी पनि काठमाडौं १ बाट पराजीत भएका छन् । चुनावअघि ठूलै तामझामसहित प्रचार देखिए पनि उनी चौथो उपबिजेता भएका छन् । बिजयी नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७१४३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी राप्रपाका रविन्द्र मिश्रले मिश्रले ७०१८ मत पाएका छन् । दोस्रो उपबिजेता नेस्वपाका उम्मेदवार पुकार बमले ४११५ मत पाएका छन् । तेस्रोमा एमालेका किरण पौडेलले ३५३२ मत र खरेलले ३१२४ मत पाएका छन् ।
त्यसैगरी, काठमाडौं ४ मा राप्रपाबाट उम्मेदवारी दिएका सशस्त्र प्रहरी बलका एआइजी ठाकुरमोहन श्रेष्ठले ४०५० मत प्राप्त गरेका छन् । २१३०२ मत प्राप्त गरी काठमाडौं ४ मा गगन थापा बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईले १३८८५ मत पाएका छन् । ठाकुरमोहन दोस्रो उपबिजेता बनेका छन् ।
त्यसैगरी नवलपरासी २ मा राप्रपाबाट उम्मेदवारी दिएका पूर्व आइजीपी धु्रवबहादुर प्रधान भने बिजययात्रामा छन् । उनको जित निश्चित जस्तै छ । प्रधान पूर्वगृहराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका देवेन्द्रराज कँणेल उर्फ मुन्नाबाबुभन्दा फराकिलो मतान्तरका साथ बिजयको यात्रामा छन् । यसअघिका निर्वाचनमा देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अग्रता लिएका छन् । उनलाई देवेन्द्रराज कँडेलले २८६४ मतका साथ पछ्याइरहेका छन् ।