काठमाडौँ। नेपाल वायुसेवा निगमले यहि मंसिर १२ गतेदेखि भैरहवास्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने भएको छ । यात्रुको चाप बढ्दै वृद्धि भएपछि निगमले भैरहवाबाट सिधा दिल्ली उडान गर्ने भएको हो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार, पहिलो चरण अन्र्तगत नोभेम्बर २८ (मंसिर १२) मा सोमबार एउटा उडान हुने छ । त्यसपछि डिसेम्बर (मंसिर १५) पछि सातामा दुई दिन बुधबार र शुक्रबार निगमको विमानले भैरहवाबाट पनि उडान गर्ने छ ।
अहिले निगमको काठमाडौंबाट उडेको विमान दिल्ली पुगेर भैरहवा फर्किने छ नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले बताए । त्यहाँबाट यात्रु ओरालेर पुन: जहाज काठमाडौं फर्किने छ ।
निगमले भैरहवाबाट उडान अनुमति लिएसँगै प्राधिकरणले यसअघि जारी गरेको शितकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा काठमाडौंबाट कटौती गरिएका निगमका दिल्ली लगायतका क्षेत्रका उडान फुकुवा गरिदिएको सहायक प्रवक्ता भूलले बताए ।
निगमलाई प्राधिकरणले भैरहवाबाट १ सय ५७ यात्रु क्षमताको एयरबस ए३२० न्यरोबडी र २ सय ७४ सिट क्षमताको एयरबस ए३३० वाइडबडीबाट उडान गर्ने अनुमती दिएको छ । उसले यात्रुको माग अनुसार यो रुटमा उडान गर्ने छ । हाल भैरहवाका लागि कुवेतको जजिरा एयरवेजको १ सय ६२ यात्रु क्षमता भएको न्यरोबडी उडाउँदै आइरहेको छ ।