काठमाडौँ। भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका चर्चित अभिनेता प्रदीप खड्काले आगामी ४ मङ्सिरमा हुने चुनावसम्बन्धी कविता लेखेका छन्। उनले कवितामा आफ्नो मत खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उक्त कविता रचेका हुन्। हिजो आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।
‘हाम्रो भोट’ शीर्षकमा प्रदीपले लेखेको कविता यस्तो छ :
हाम्रो भोट
स्वतन्त्र उठ्ने सागर!
कि स्वतन्त्र पार्टीको रवि दाइ?
अपरिहार्य तिनको नियत
कि आंकल्ने तिनको छविलाई?
चाहे राजेन्द्र, मिश्र सर वा दिज्यू कुन्ती शाही,
विनोद सर अनि किन नहोस् गगन दाइ!
प्रधानमन्त्रीज्यू, शेर बा. देउवा
कमरेड प्रचण्ड वा हाम्रा केपी बा!
नयाँ पुस्ता आउँदा कि पुराना कोही डग्मगाउँदा
मेरो अपिल! केवल एउटा
गर्न नसक्ने कोही छैनन्
गर्न खोज्ने चैँ?
हाम्रो भोट र देशको स्रोत
खेर त जाँदैन कतै?
जसलाई मत दिए नि
रहोस् उद्देश्य एउटै
स्थायित्व, शान्ति र समृद्धि,
देख्न पाइयोस् छिट्टै।