काठमाडौँ। भारतबाट अवैध रुपमा भित्रिँदै गरेको करिब ३० लाख मूल्यको ३० टनभन्दा बढी मैदा आज मंगलबार बिहान विराटनगर भन्सारले नियन्त्रणमा लिएको छ । भारतले नेपालमा मैदा र गहुँ निकासीमा प्रतिबन्द लगाएपछि जोगवनी नाकाबाट मैदाको तस्करी बढेको हो ।
मोरङ र सुनसरीको पश्चिमी सीमामा पर्ने केसलिया खोलाको तीरबाट तस्करी गरेर अवैध रुपमा भित्रिँदै गरेको उक्त मैदा भन्सार गस्तीले नियन्त्रणमा लिएको विराटनगर भन्सारका सूचना अधिकृत रामचन्द्र ढुङ्गनाले बताए । दुई ट्रक, दुई ट्याक्टर र एक भ्यानमा हालेर उक्त मैदा अवैध रुपमा भित्रिँदै गर्दा गस्तीले नियन्त्रणमा लिएको ढुङ्गनाले बताए । त्यस क्रममा चार जनालाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरूको बयानपछि उक्त मैदा कसको हो पुष्टि हुने उनले जनाए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ आयात गर्ने बाटो नखुलाउँदा मुलुकमा सञ्चालन भएका ३७ वटा मैदा मिललाई गहुँको अभाव सुरु भएसँगै भारतबाट मैदाको अवैध आयात बढेको भन्सरको गुनासो छ।