काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएर २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
एक नाबालिकामाथि बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै कार्तिक २५ गते शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९-सीएस-०३१२ रहेको छ ।
जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । नाबालिग गायिकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणी गरेको आरोप लागेको थियो।
यद्यपि पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।
सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ ।
उनी हाल तनहुँ कारागारमा छन् ।